२०८२ साउन २८ गते बुधवार / Aug 13 , 2025 , Wednesday
२०८२ साउन २८ गते बुधवार
Ads

हङकङमा बढ्यो नेपाल एयरलाइन्सको यात्रुको संख्या

shivam cement
मध्यान्ह
२०८२ साउन २७ गते २१:४२
हङकङमा बढ्यो नेपाल एयरलाइन्सको यात्रुको संख्या

काठमाडौं : नेपाल वायुसेवा निगमले हङकङमा बसेर नेपाली समुदाय, व्यवसायी तथा यात्रुलाई राष्ट्रिय ध्वजावाहक विमान प्रयोग गर्न आग्रह गरेको छ । निगमले हङकङमा आयोजना गरेको छलफलमा नियमित र गुणस्तरीय सेवा अझ वृद्धि गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको नेतृत्वमा बजार निर्देशक टंकनिधि दाहाल, वरिष्ठ विमान चालक विजय लामालगायतको टोलीले हङकङस्थित संस्थागत प्रतिनिधि, व्यवसायी र यात्रुसँग भेटघाट गरी निगमको सेवाप्रति विश्वास कायम राख्न आग्रह गरेको हो ।

टोलीले निगमको सेवा विस्तार, समयपालन र यात्रु सुविधामा सुधारका लागि विभिन्न सुझाव संकलन गरेको छ । छलफलका क्रममा यात्रु तथा समुदायका प्रतिनिधिले नेपाल वायुसेवाको निरन्तर सेवा सञ्चालन र गुणस्तरीयतामा खासै गुनासो नरहेको बरु गौरव लाग्ने गरेको अनुभव सुनाएका थिए ।

छलफलमा यात्रुको चाप व्यवस्थापन, आवश्यकताअनुसार अतिरिक्त उडानको सम्भावना र सेवामा देखिएका समस्याको छिटो समाधानका लागि निगमले गर्ने प्रयासबारेमा समेत जानकारी दिइएको निगमका प्रवक्ताद्वय सुभाष डाँगी र मनोजकुमार साहद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

छलफल भएको केही दिनदेखि नै हङकङबाट नेपाल आउँदा निगमको जहाज प्रयोग गर्नेको संख्या बढेको निगमले जनाएको छ । पूर्वनिर्धारित निगमको कार्यक्रममा गएका बेला हङकङस्थित नेपाली साहित्यानुरागीहरूले बिदाको दिन आयोजना गरेको कार्यक्रममा कार्यकारी अध्यक्ष अधिकारी सहभागी भएको विषयलाई गलत तरिकाले व्याख्या गरेकोप्रति निगमले दुःख व्यक्त गरेको छ । 

साथै, कार्यकारी अध्यक्ष अधिकारीसहितको टोली नियमित उडानमार्फत स्वदेश फर्किएको र त्यही दिन दम्मामको उडान भने विमान बिग्रिएकाले स्थगित गर्नुपरेको पनि वक्तव्यमा स्पष्ट पारिएको छ । राष्ट्रिय ध्वजावाहकको हैसियतले यात्रुको विश्वास, सुरक्षालाई प्राथमिकता दिने र हङकङ–नेपाल उडानलाई अझ व्यवस्थित र भरपर्दो बनाउन निरन्तर प्रयास गर्ने निगमले जनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise