२०८२ कार्तिक ९ गते आइतवार / Oct 26 , 2025 , Sunday
२०८२ कार्तिक ९ गते आइतवार
Ads

दक्षिण एसियाको आतंकवाद समाप्त पार्न भारतले अगुवाइ गर्नुपर्छ : उपेन्द्र यादव

shivam cement
लेखनाथ सिकारु
२०८२ साउन २५ गते २२:१०
दक्षिण एसियाको आतंकवाद समाप्त पार्न भारतले अगुवाइ गर्नुपर्छ : उपेन्द्र यादव

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दक्षिण एसियामा आतंकवादी गतिविधि न्यून गर्न भारतले अगुवाई गर्नुपर्ने बताएका छन् । 

नेपाल–भारत विकास मञ्चले आइतबार काठमाडौंमा आयोजना गरेको ‘दक्षिण एसियामा आतंकवादको अवस्था र दीर्घकालीन समाधान’ विषयक विचार गोष्ठीमा बोल्दै उनले सार्कजस्तो क्षेत्रीय संगठन आवश्यक रहेको र यसको पुनर्जीवनका लागि भारतले अगुवाइ गर्नुपर्नेमा जोड दिएका हुन् ।

‘भारत क्षेत्रीय शक्तिका रूपमा आतंकवाद विरुद्ध निर्णायक भूमिका खेल्न सक्छ । यसले सार्क लगायत अन्य क्षेत्रीय संस्थाहरूलाई सक्रिय बनाएर शान्ति र सुरक्षा कायम गर्न सकिन्छ’ उनले भने ।

उनले सार्क संगठन आतंकवादका कारण निष्क्रिय अवस्थामा पुगेको उल्लेख गर्दै भने, ‘आतंकवादले पाकिस्तान र अफगानिस्तानमा गरिबी र बेरोजगारी समेत बढाएको छ । यसले क्षेत्रीय विकास र शान्तिलाई ठूलो चुनौती दिएको छ ।’

पूर्व परराष्ट्रमन्त्री समेत रहेका अध्यक्ष यादवले आतंकवादी गतिविधिलाई कुनै पनि वादसँग जोडेर हेर्न नहुने जिकिर गरे । आतंकवादी गतिविधि राष्ट्रवाद, धर्म वा पृथकतावादी आन्दोलनका नाममा जन्मिए पनि यसको स्वरूप सधैँ अमानवीय र मानवविरोधी भएको उनले बताए ।

‘दक्षिण एसियामा कुनै पनि देश आतंकवादबाट अछुतो छैन। तर, पाकिस्तान र अफगानिस्तानमा यसको प्रभाव धेरै छ। भुटान, भारत र बंगलादेशमा पनि यसको गतिविधि देखिन्छ,’ उनले भने । 

यादवले आतंकवादकै कारण सार्क संगठन निष्क्रिय जस्तो अवस्थामा पुगेको बताए । आतंकवादले पाकिस्तान र अफगानिस्तानमा गरिबी र बेरोजगारी बढाएको उनले बताए । आतंकवाद राष्ट्रवाद, धर्म वा पृथकतावादी आन्दोलनका नाममा जन्मिए पनि यसको स्वरूप सदैव अमानवीय र मानवता विरोधी भएको यादवले बताए ।

कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एवं राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले आतंकवादलाई जन्मन दिनु नहुने भन्दै आफ्नो अधिकारको लागि शान्तिपूर्ण आन्दोलन गर्दा राज्यले बन्दुक चलाएको उदाहरणहरू रहेको भन्दै आतंक सिर्जना गरिएको प्रमाण भएको बताए । दक्षिण एसिया क्षेत्र भनेको आतङ्कवादी उत्पादन गर्ने क्षेत्र भएको उल्लेख गर्दै नेपालमा कुनै पनि प्रकारका आतंक हुन नहुने बताए ।

नेपाल–भारतबिचको जनस्तरको सम्बन्ध कुनै व्यक्ति र राज्यले बनाएको सम्बन्ध नभएको पनि बताए । उनले भने, ‘आतंकवादलाई जन्मन दिनु हुँदैन । समयमै यसबारे सोच्नुपर्छ । कहिले कहीँ राज्य आतंक पनि सिर्जना हुन्छ । व्यक्ति आतंक, राज्य आतंक, समूह आतंक विभिन्न हुन्छन् । राज्य आतंक पनि कहिले कहीँ हुँदो रहेछ । नागरिकमाथि राज्यले आतंकपूर्ण हमला, गतिविधि र व्यवहार गर्दछ । आफ्नै देशमा पनि भएका छन् ।’

नेपाली कांग्रेसका नेता तथा पूर्वरक्षामन्त्री डा.मीनेन्द्र रिजालले दक्षिण एसियामा शान्ति र स्थिरताका लागि भारत–चीन सम्बन्ध मजबुत हुनु अपरिहार्य भएको बताए ।

उनले देशभित्रको राजनीतिक विषयलाई आतंकवादसँग जोडेर हेर्न नहुने बताउँदै माओवादीको सशस्त्र आन्दोलनलाई राजनीतिक विद्रोहको रूपमा व्याख्या गरे । उनले भारतमाथि हुने कुनै पनि आतंक वा सुरक्षा सम्बन्धी आक्रमणमा नेपालको भूमि प्रयोग नहुने स्पष्ट पार्दै भारतको लागि मात्र होइन, कुनै पनि मुलुकविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिइने स्पष्ट पारे ।

भारत र नेपालको सम्बन्धलाई कुनै पनि मुलुकसँग दाँज्न नसकिने बताउँदै नेता रिमालले अन्य मुलुकहरूसँग पनि सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिए । साथै उनले भारत–चीन सम्बन्धमा कटुता बढे नेपालका विकास निर्माणदेखि अन्य क्षेत्रमा असर पर्ने चेतावनी दिए ।

कार्यक्रममा अन्य वक्ताहरुले दक्षिण एसिया आतंकवादको हटस्पट बन्दै गएको र यस्तो समस्याको स्थायी समाधानका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी समन्वय आवश्यक रहेको औँल्याइएका थिए । विचार गोष्ठीमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आतंकवाद केवल सुरक्षा चुनौती मात्र नभई राजनीतिक, सामाजिक, आर्थिक र भूराजनीतिक आयामसँग जोडिएको जटिल समस्या भएको उल्लेख गरे ।

उनले अफगानिस्तान, पाकिस्तान, भारत, बङ्गलादेश, नेपाल, श्रीलंका, भुटान र माल्दिभ्स सम्मिलित दक्षिण एसिया क्रस–बोर्डर आतंकवाद, पृथकतावादी आन्दोलन, धार्मिक कट्टरपन्थ र राज्य प्रायोजित गतिविधिबाट प्रभावित भएको जिकिर गरे ।

त्रिपाठीले आतंकवादका कारण मानवीय क्षति, आर्थिक अवरोध, सामाजिक असन्तुलन र क्षेत्रीय अस्थिरता तीव्र भएको बताए । नेपाल–भारत विकास मञ्चका अध्यक्ष रामकिशोर सिंहको अध्यक्षमा भएको कार्यक्रम सञ्चालन निर्मला सुवेदीले गरेकी थिइन् ।

ADV

सम्बन्धित खबर

Advertise