काठमाडौं : एएफसी यु–२० महिला एसियन कप छनोटको समूह ‘ए’ को अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग फराकिलो अन्तरले पराजित भएको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा आइतबार सम्पन्न खेलमा नेपाल उत्तर कोरियासँग ११-० गोलअन्तरले पराजित भएको हो । यस हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।
साबिक विजेता उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल गर्दै नेपाललाई पराजित गर्यो । यससँगै समूहका सबै तीन खेल जितेको उत्तर कोरिया ९ अंकसहित समूह विजेता बन्दै अर्को वर्ष थाइल्यान्डमा हुने एसियन कपमा स्थान बनाउन सफल भयो । छनोट चरणमा उत्तर कोरियाले जम्मा ३६ गोल गर्दा एकपटक पनि गोल खानु परेन ।
नेपालले भने तीन खेलबाट ४ अंक मात्र बटुल्यो । पहिलो खेलमा भुटानसँग १–१ को बराबरी खेलेको नेपालले दोस्रो खेलमा साउदी अरबलाई १–० ले पराजित गरेको थियो । तर अन्तिम खेलमा जित्नै पर्ने अवस्थामा उत्तर कोरियासँग ठुलो हार व्यहोर्दा उत्कृष्ट उपविजेता बन्ने सम्भावना पनि समाप्त भयो ।
छनोट नियमअनुसार ८ समूहका विजेता सिधै छनोट हुनेछन् भने उत्कृष्ट तीन उपविजेता पनि मुख्य चरणमा पुग्नेछन् । तर, अन्य समूहका दोस्रो स्थानका टिमले यसअघि नै ६ अंक जोडेका कारण नेपालको यात्रा यहीँ समाप्त भएको हो ।