२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

एनपीएल अक्सन : चार खेलाडीलाई सर्वाधिक मूल्य

Nada
२०८२ साउन २४ गते २१:२३
Shares
एनपीएल अक्सन : चार खेलाडीलाई सर्वाधिक मूल्य

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि खेलाडी अक्सन सम्पन्न भएको छ । राजधानीमा शुक्रबार सम्पन्न अक्सनमा आठ टोलीले २६ खेलाडी अनुबन्ध गरेका छन् ।

ncell

यसपटक ‘ए’ श्रेणीका देव खनाल, अर्जुन साउद, पवन सर्राफ र आदिल अन्सारी सबैभन्दा महँगो मूल्यमा अनुबन्ध भएका छन् । ती चारै जनालाई अधिकतम १५ लाख रुपैयाँमा टोलीहरूले भित्र्याए । ‘ए’ श्रेणीको न्यूनतम मूल्य १० लाख र अधिकतम १५ लाख रुपैयाँ तोकिएको थियो।

चितवन राइनोजले देव खनाललाई लुम्बिनी लायन्ससँगको लक्की ड्रबाट पायो । त्यस्तै, अर्जुन साउदमाथि चितवन, विराटनगर किङ्स र कर्णाली याक्सले चासो देखाएपछि भएको लक्की ड्रमा फेरि चितवनले नै जित हात पार्‍यो ।

पहिलो संस्करणमा चोटका कारण अक्सनमा नपरेका पवन सर्राफमाथि चितवन, लुम्बिनी, कर्णाली र विराटनगरले १५ लाखमा बोली लगाए। अन्ततः लक्की ड्रमा कर्णाली याक्सले उनलाई अनुबन्ध गर्न सफल भयो ।

सबैभन्दा बढी प्रतिस्पर्धा आदिल अन्सारीका लागि भयो । आठै टोलीले उनलाई भित्र्याउन बोली लगाएपछि लक्की ड्रमार्फत काठमाडौं गोर्खाज भाग्यमानी बन्यो । तीन वर्षअघि फिक्सिङको आरोपमा निलम्बित भएका आदिलले अदालतबाट सफाइ पाएका थिए । केही महिनाअघि क्रिकेट संघ नेपाल (क्यान) ले उनको प्रतिबन्ध फुकुवा गरेसँगै उनी पुनः मैदानमा फर्किएका हुन् ।

‘ए’ श्रेणीका अन्य खेलाडीमध्ये दिलिप नाथलाई लुम्बिनी लायन्सले र सूर्य तामाङलाई विराटनगर किङ्सले न्यूनतम १०–१० लाख रुपैयाँमा अनुबन्ध गरे । ‘बी’ र ‘सी’ श्रेणीका खेलाडीहरू पनि न्यूनतम मूल्यदेखि अधिकतम मूल्यसम्ममा अनुबन्ध भए । ‘बी’ श्रेणीमा ५ देखि १० लाख रुपैयाँ र ‘सी’ श्रेणीमा २ देखि ५ लाख रुपैयाँको मूल्य दायरा तोकिएको थियो ।

अक्सनपछि पनि सबै टोलीले आफ्नो खेलाडी कोटा पूरा गरिसकेका छैनन् । यो संस्करणमा कम्तीमा ३७ खेलाडी भित्र्याउन सकिने व्यवस्था छ । अहिले २६ खेलाडी अनुबन्ध भइसकेकाले बाँकी ११ खेलाडी टोलीहरूले ‘विश लिस्ट’मार्फत छनोट गर्नेछन् ।

टोली र खेलाडी सूची

चितवन राइनोज– देव खनाल (१५ लाख), अर्जुन साउद (१५ लाख)

विराटनगर किङ्स– सूर्य तामाङ (१० लाख), शाहिल पटेल (५ लाख), नारायण जोशी (५ लाख)

लुम्बिनी लायन्स– दिलिप नाथ (१० लाख), विशाल पटेल (५ लाख), शेर मल्ल (१० लाख)

सुदूरपश्चिम रोयल्स– हेमन्त धामी (१० लाख), टेक रावत (२ लाख), दिपेन्द्र थापा (२ लाख)

काठमाडौं गोर्खाज– उत्तम थापा मगर (३ लाख), तुलबहादुर थापा (२ लाख), सन्तोष यादव (१० लाख), आकाश त्रिपाठी (७ लाख), आदिल अन्सारी (१५ लाख)

पोखरा एभेन्जर्स– अभिषेक तिवारी (२ लाख), अर्जुन कुमाल (५ लाख), कृष्ण पौडेल (२ लाख)

जनकपुर बोल्ट्स– सचिन भट्ट (२ लाख), आदित्य महता (५ लाख), मयन यादव (७ लाख ४५ हजार)

कर्णाली याक्स– पवन सर्राफ (१५ लाख), इमरान शेख (२ लाख), दिपक डुम्रे (२ लाख), युवराज खत्री (१० लाख)

ताजा खबर

सम्बन्धित खबर