चितवन : महिला राष्ट्रिय फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ सम्मानित भएकी छन् । ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नाराका साथ सरस्वती युवा क्लब, भरतपुर–१५, चितवनले शनिबार साम्बालाई सम्मान गरेको हो ।
क्लबले साम्बालाई नगद एक लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गर्यो । उनको लमजुङदेखि अन्तर्राष्ट्रिय महिला फुटबलसम्मको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको क्लबले जनाएको छ ।
कार्यक्रममा क्लबकी पूर्वअध्यक्ष शर्मिला थापा र विदुर केसीले सावित्रा भण्डारीको जीवनीबारे संक्षिप्त प्रस्तुति दिँदै लमजुङको विकट बस्तीबाट अन्तर्राष्ट्रिय फुटबल मञ्चसम्मको उनको संघर्षपूर्ण यात्राबारे प्रकाश पारे ।
साम्बाले कार्यक्रममा सहभागी सबैप्रति आभार व्यक्त गर्दै भनिन्, ‘दुःख र संघर्ष मेरो जीवनमा नौलो कुरा होइन । तर चितवनवासी र श्री सरस्वती युवा क्लबबाट पाएको मान–सम्मान जीवनभर बिर्सने छैन ।’ उनले आफ्नो सफलताको कथा र अहिलेसम्मको यात्राबारे भावुक शैलीमा सुनाइन् ।
कार्यक्रमको अध्यक्षता सुवास सिलवालले गरेका थिए । विशेष अतिथिहरूमा भरतपुर–१४ का वडा अध्यक्ष राजेन्द्र सांखी, वडा १५ का अध्यक्ष श्रीकृष्ण देवकोटा, बागमती प्रदेश खेलकुद विकास समिति भरतपुर–चितवनका अध्यक्ष राजन कार्की, वरिष्ठ समाजसेवी एवं क्लबका जग्गादाता एकबहादुर पन्त, क्लब सल्लाहकार विदुर केसी र नरेन्द्र आचार्य, पूर्व अध्यक्ष शेरबहादुर विक, दीपक विष्ट, देवेन्द्र थापा, शर्मिला थापा तथा कार्यक्रम संयोजक घनश्याम केसी रहेका थिए ।
कार्यक्रममा भरतपुर–१४ र १५ का विभिन्न संघ–संस्था, क्लब, आमा समूह र टोल विकास संस्थासहित करिब तीन दर्जन सामाजिक संगठनका अध्यक्ष एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
क्लब अध्यक्ष सुवास सिलवालका अनुसार कार्यक्रममा पाँच हजारभन्दा बढी शुभचिन्तक र प्रशंसकहरूको उपस्थिति रहेको थियो । यसरी चितवनमा पहिलोपटक यति ठुलो संख्यामा बालबालिका, युवा, महिला र वृद्धवृद्धाको सहभागिता रहेको थियो ।
सचिव राजु केसीले सञ्चालन गरेको कार्यक्रममा घनश्याम केसीले स्वागत मन्तव्य राखेका थिए ।