२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

काठमाडौंमा ‘विविधताको उत्सव’ हुँदै

Nada
२०८२ साउन २३ गते २०:३४
Shares
काठमाडौंमा ‘विविधताको उत्सव’ हुँदै

काठमाडौं : अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सले ‘डाइभर्सिटी कार्निभल – विविधताको उत्सव’ आयोजना गर्ने भएको छ । सोमबार काठमाडौंमा हुने कार्यक्रममा देशभरिका १५० भन्दा बढी युवाहरू सहभागी हुनेछन् । 

ncell

उक्त उत्सवमा मुसहर समुदायकी पहिलो डाक्टर स्मृति हरिजनले प्रमुख वक्ताको रूपमा आफ्नो प्रेरणादायी कथा प्रस्तुत गर्नेछिन् । साथै, महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा, कलाकार नाजिर हुसेन, नेपाल सरकारका उपसचिव सुनिल कुमार पासमान, र रेन्वो डिसएबिलिटी नेपालकी उपाध्यक्ष मीना जोशीले ‘सपना, संघर्ष र सफलता’ विषयमा प्यानल छलफल गर्नेछन् । 

कार्यक्रममा ब्याण्ड ‘कासा’ र सारंगी वादक किरण नेपालीको टोलीले सांगितिक प्रस्तुति दिने छन् । त्यसैगरी, चार कलाकारले एउटै क्यानभासमा चित्र कोर्ने ‘लाइभ पेन्टिङ’ समेत हुनेछ ।

युवाहरूलाई समेटेर सामाजिक भाष्य, स्वास्थ्य, जलवायु परिवर्तन र अवसर लगायतका विषयमा समूहगत कार्यशालासमेत आयोजना हुनेछ । कार्यशालाबाट निस्केका निष्कर्ष तथा सुझावहरू सम्बन्धित निकायमा बुझाइने बताइएको छ ।

संस्थाका अध्यक्ष प्रदीप परियारले सुन्नै नपाएका कथाहरूलाई मुखर बनाउँदै विविधता र समावेशीताको अभ्यासमा कार्यक्रमको केन्द्रीकरण हुने बताए । युवाहरू आफैँले समावेशीताका मुद्दामा बोल्न र व्यवहारमा उतार्न कार्यक्रमले सघाउने उनले उल्लेख गरे ।

नवराज विक हत्याकाण्डपछि स्थापना भएको दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सले जातीय भेदभावविरुद्ध युवालाई परिचालन गर्दै कास्ट कनभर्सेशन टेलिभिजन कार्यक्रम, मार्च टु जस्टिस अभियान, जस्टिस समिट २०२५ लगायतका अभियान सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा दलित, मधेशी, महिला, मुस्लिम, थारु, आदिवासी जनजाति, अपांगता भएका व्यक्ति र विविध यौनिक तथा लैंगिक पहिचान भएका युवाहरूको सहभागीता रहने आयोजकले जानकारी दिएको छ ।

ताजा खबर

सम्बन्धित खबर