सल्यान : सल्यानको कालिमाटी गाउँपालिका–३ रोकचामा बिजुलीको पोल बोकेको मिनि ट्रक दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दाङबाट पोल बोकेर खलंगा जाँदै गरेको बा.प्र. ०१–०० ख ५८१३ नम्बरको मिनि ट्रक शुक्रबार दिउँसो करिब कालिमाटी–खलंगा सडकखण्डमा दुर्घटना भएको हो । ट्रक सडकबाट करिब २० मिटर तल खसेको छ ।
उक्त ट्रक कास्कीको चापाकोट गाउँपालिका–५ निवासी ५२ वर्षीय पूर्णबहादुर परियारले चलाएका थिए । ट्रकमा चालकसहित तीन जना सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।
दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय कालिमाटीबाट प्रहरी नायब निरीक्षक मेघराज के.सी.को नेतृत्वमा टोली घटनास्थल पुगेको थियो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।