काठमाडौं : निर्वाचन आयोगले प्रस्ताव गरेको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’ माथि प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमालेसहित अन्य दलहरूले असहमति जनाएका छन् । आयोगले आजसम्म कार्यविधि सम्बन्धमा सुझाव दिन आग्रह गरे पनि ठुला दलहरूले स्पष्ट रूपमा आपत्ति जनाएका हुन् ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कार्यविधिको मस्यौदाप्रति पार्टीको प्रष्ट विमति रहेको बताएका छन् । राजनीतिक दललाई मूल्यांकन जनताले, निर्देशित संविधानले गर्ने उनले बताए । निर्वाचन आयोगको यस्तो प्रयास दलहरूको स्वायत्तता माथिको हस्तक्षेप भएको उनको ठहर छ ।
त्यस्तै, नेकपा एमालेले पनि उक्त कार्यविधिमा असहमति जनाएको छ। एमाले केन्द्रीय निर्वाचन विभाग प्रमुख नीरज आचार्यका अनुसार स्वमूल्यांकन राजनीतिक दलहरूको आन्तरिक विषय हो र त्यसमा निर्वाचन आयोगले हस्तक्षेप गर्नु असंवैधानिक हो । राजनीतिक दलहरूको मूल्यांकन जनताबाट जनादेशमार्फत हुने बताउँदै उनले यो विषय दलहरूको स्वनियमन अन्तर्गत पर्ने उल्लेख गरे ।
यसअघि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सिंहदरबारमा बसेको विपक्षी दलहरूको संयुक्त बैठकले पनि आयोगको कार्यविधिको विरोध गर्ने निर्णय गरिसकेको छ । बैठकमा माओवादीसँगै रास्वपा, राप्रपा, जनमतलगायत दलहरूको सहभागिता थियो ।
निर्वाचन आयोगले ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’ मस्यौदा सार्वजनिक गर्दै राजनीतिक दल तथा सरोकारवालाहरूलाई सुझाव दिन भदौ २१ गतेसम्मको समय दिएको थियो । तर दलहरूले यसलाई संविधानविपरीतको कदम भन्दै खारेज गर्न माग गरेका छन् ।