सप्तरी : सप्तरीको बलान बिहुल गाउँपालिका–१ स्थित मलहनियाँ हटियामा बलान बिहुल सञ्जालको आयोजनामा रक्तदान कार्यक्रम तथा युवा भेला सम्पन्न भएको छ ।
गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष रामकुमार यादवको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा सञ्जालका अध्यक्ष मुकेश पासवान, सल्लाहकार दुर्गा यादवसहित बुद्धिजीवी तथा समाजसेवीहरूको उपस्थिति थियो ।
कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष यादवले समाजमा विद्यमान समस्याप्रति सचेत रहनुपर्ने आवश्यकता औंल्याउँदै शैक्षिक गतिविधिमा ध्यान दिन, अति विपन्न परिवारलाई सहारा दिन, युवालाई रोजगारीमा जोड्न र भ्रष्टाचार तथा दाइजो प्रथाविरुद्ध आवाज उठाउन आग्रह गरे ।
कार्यक्रममा जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालन नवीन चौधरीले गरेका थिए ।