काठमाडौं : करिब डेढ वर्षअघिबाट नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच पार्टी एकताको विषयमा बहस केन्द्रित छ । सोही बहसकैबीच नेकपा माओवादी स्थायी कमिटी बैठकले विप्लवसँग एकता गर्ने भनेको डेढ वर्षपछि एकताको निर्णय गरेको छ । तर सो निर्णय पनि भरपर्दो छैन । यी दुई दलबीच पार्टी एकता हुने कुनै औपचारिक छलफल अहिलेसम्म भएको छैन ।
कार्यगत एकता हुँदै पार्टी एकतासम्म जाने कुरामा विश्वास दिलाएर पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नेकपाका महासचिव विप्लवलाई आफूनिकट बनाएर राजनीतिक मुद्दामा अघि बढेका छन् । यही सेरोफेरोमा रहेर प्रचण्ड–विप्लवबीच समाजवादी मोर्चा बनाउने विषयमा सहमति भएको थियो । उक्त मोर्चाको संयोजक अहिले पनि विप्लव नै छन् । यद्यपि माओवादीसँगको एकताको औपचारिक छलफल अहिलेसम्म नभएको नेकपाका नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले बताए ।
सबै माओवादी घटकसँग एकता गरी सबै कम्युनिस्टहरूको एकता जरुरी भएको विषय आफूहरूले नै ल्याएको बताउँदै प्रकाण्डले भने, ‘माओवादी केन्द्रसँग अहिलेकै अवस्थामा पार्टी एकता गर्नेबारे कुनै औपचारिक छलफल भएको छैन ।’ माओवादी केन्द्रबाट एकताको विषय सार्वजनिक भए पनि यसको कुनै संस्थागत निर्णय भएर आफूहरूसँग नआएको उनको जिकिर छ ।
यता माओवादी केन्द्रका महासचिव देव गुरुङले भने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग छिट्टै एकता हुने दाबी गरे । ‘यस विषयमा तत्काल वार्ता टोली गठन गरी एकताका आधार तयार गर्नेगरी पार्टीमा छलफल हुँदै छ,’ उनले मध्यान्हसँग भने, ‘नेकपासँगको एकता विचार राजनीतिक प्रतिबद्धतामा त्यति धेरै भिन्नता नदेखिएकाले पनि छिटो एकता गर्न सकिन्छ भन्नेमा छौं । पार्टीको स्थायी कमिटी बैठकबाट निर्णय भइसकेकाले अब त्यसको कार्यान्वयनतर्फ हाम्रो ध्यान जानुपर्छ ।’
देशमा बढ्दै गएको व्यवस्थामाथिको खतरा र समाजवादी क्रान्तिका लागि विचार मिल्ने शक्तिबीचको एकता अत्यावश्यक भएको समेत औंल्याएका छन् । स्थायी कमिटी बैठकमा घनीभूत छलफल भएर नै विप्लवजी नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय भएको उनले दाबी गरे । पार्टी एकता गर्ने सन्दर्भमा दुई दलबीच औपचारिक छलफल नभए पनि माओवादीले एकताको निर्णय गरिसकेकाले नेकपाले पनि आगामी भदौमा हुने पार्टी बैठकबाट निर्णय गरेर जाने आंकलन गरिएको छ ।
माओवादी केन्द्रको स्थायी समितिबाटै एकताको निर्णय गरिसकेकाले पार्टी एकताबारे शंका गर्नुपर्ने अवस्था नरहेको नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । ‘यो हाम्रो निर्णय हो,’ उनले भने, ‘अब उहाँहरूले निर्णय गरेपछि एकता प्रक्रिया अगाडि बढ्छ, यसमा कुनै शंकाको कुरा छैन ।’
नेकपाले भने यो विषयलाई सजिलो ठानेको छैन । माओवादीसँग कतिपय वैचारिक असहमति रहेकाले त्यस विषयमा माओवादी केन्द्र स्पष्ट हुन जरुरी रहेको सो दलको दाबी छ । ‘माओवादी केन्द्र संसदवादी दल हो, एकताभन्दा अघि उसले संसदवादबाट माथि उठ्छ वा उठ्दैन, विचार र नेतृत्वको रूपान्तरण गर्न सक्छ वा सक्दैन भन्ने विषय प्रमुख हो,’ नेकपाका प्रवक्त प्रकाण्डले भने, ‘एकताको पहिलो सर्त नै विचार र रूपान्तरण जरुरी छ, विचार र कार्यदिशा प्रमुख हो, अरू पार्टी र हाम्रो पार्टीमा फरक छ । माओवादीले पार्टी एकता गर्ने निर्णय गरेको रहेछ । तर, हामीसँग कुनै छलफल भएको छैन ।’
माओवादीले विप्लव समूहका केही नेताहरूलाई आफ्नो दलमा भित्र्याउन गरिएको रणनीति हुन सक्ने आशंकासमेत विप्लव पक्षका नेताहरूको छ । माओवादी नेतृत्वको उद्देश्य र आशयप्रति शंका व्यक्त गर्दै अहिले नै विश्वास गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ । आमकम्युनिस्ट पार्टीसँग एकताको कुरा गर्ने तर माओवादीसँग मात्रै तोकेर एकता गर्ने विषयमा कुनै निर्णय नहुने प्रकाण्डले मध्यान्हलाई बताए । उनको यो अभिव्यक्तिले अहिले नै माओवादी र नेकपा विप्लवबीच एकता भइहाल्ने छाँट देखिएको छैन । राजनीतिक विश्लेषक जैनेन्द्र जीवन कम्युनिस्ट पार्टीहरू जुट्नेमा भन्दा बढी फुटमै रमाउने देखिएकाले उनिहरूबीच सानातिना विषयमा पनि मत भिन्नता हुने बताउँछन् । ‘ससाना विषय र शब्द शब्दमा फरक तर्क र फरक मत राख्ने कम्युनिस्ट नेताहरूको चरित्र भएकाले फुट जति सजिलो छ मिलन त्यत्तिकै गाह्रो छ,’ उनले भने । दलहरू मिलेर नागरिकको समस्यामा सामूहिक जुट्ने कोसिस गर्नु राम्रो भए पनि माओवादी र विप्लवजीको पार्टी एकता अहिलेकै परिस्थितिमा मिलिहाल्ने अवस्था नरहेको उनको तर्क छ ।
पार्टी एकताको निर्णय लिएको दुई दिनपछि बुधबार नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)बीच भेटवार्ता भएको छ । नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले पार्टी एकताबारे माओवादीको निर्णय हावामा हानेको तीर भएको टिप्पणी गर्दै गर्दा दुई नेताबीचको भेटले पार्टी एकताको प्रयासलाई सकारात्मकउन्मुख बनाएको सन्देश दिएको नेताहरूले बताएका छन् ।
यद्यपि नेकपाका नेताहरूले भने माओवादी बैठकको एकतासम्बन्धी निर्णयलाई प्रचण्ड–जनार्दन टकरावलाई दबाब गरिएको प्रचारमुखी कार्यको संज्ञा दिएका छन् । माओवादी अध्यक्ष प्रचण्ड र विप्लवबीच एकता गर्ने सहमति विगत डेढ वर्षअगावै भए पनि माओवादी आफैंले यो विषयलाई छायामा पार्दै आएको विप्लव समूहका नेताहरूले आरोप लगाएका छन् ।