काठमाडौं : एएफसी यु–२० महिला एसियन कप छनोटअन्तर्गत पहिलो खेलमा नेपाल घरेलु टोली भुटानसँग १–१ को बराबरीमा रोकिएको छ । बंगलादेशमा हालै सम्पन्न साफ यु–२० च्याम्पियनसिपमा भुटानलाई फराकिलो अन्तरले हराएको नेपालले सोही लय दोहोर्याउने अपेक्षा गरेको थियो । तर कमजोर प्रदर्शनका कारण टोलीले महत्वपूर्ण ३ अंक गुमाएको छ ।
नेपालले खेलको सुरुवाती झन्डै ४० सेकेन्डमै अग्रता लिएको थियो । सुक्रिया मियाको लामो पासलाई भुटानी गोलकिपरले क्लियर गर्न खोज्दा गल्ती हुँदा सेनु परियारले सजिलै गोल गरिन् । उक्त गोल प्रतियोगिताको हालसम्मकै सबैभन्दा छिटो गोल बनेको छ ।
तर अग्रता लामो समय टिकाउन नेपाल असफल भयो । खेलको १८औं मिनेटमा नाम्सेल वाङ्जोमको क्रसमा केल्जेङ वाङ्मोले गोल गर्दै खेललाई बराबरीमा ल्याइन् । सो समय नेपाली गोलकिपर लिला जोशी पोस्ट बाहिर आएकी थिइन्, जसको फाइदा उठाउँदै भुटानी खेलाडीले खाली पोस्टमा सहज प्रहार गरिन् ।
दोस्रो हाफमा नेपालले खेलको ७०औं मिनेटमा पुनः अग्रता लिने प्रयास गरेको थियो । तर गरिएको गोल अफसाइड घोषणा भयो । त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन र खेल बराबरीमै टुंगियो ।
समूह ‘ए’ मा आयोजक भुटान, नेपाल, साउदी अरेबिया र सशक्त टोली उत्तर कोरिया छन् । कोरियाले प्रतियोगिताको पहिलो खेलमा साउदीमाथि १५–० को विशाल जित दर्ता गर्दै शीर्ष स्थानमा आफूलाई कायम राखेको छ । नेपाल र भुटानले समान १–१ अंक जोडेका छन् ।
समूह विजेता सिधै २०२५ मा थाइल्यान्डमा हुने एएफसी यु–२० महिला एसियन कपमा पुग्नेछन् । साथै, चारवटा समूहको छनोटबाट तीन उत्कृष्ट उपविजेता पनि अन्तिम चरणमा छनोट हुनेछन् ।