बझाङ : सामुदायिक वनको संरक्षण र दिगो व्यवस्थापनमा सशक्त उपभोक्ता समूह निर्माण गर्ने उद्देश्यसहित साहारा नेपाल बझाङले तीनदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ ।
फिनल्यान्ड सरकारअन्तर्गतको स्वालोज संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन भएको तालिम मष्टा गाउँपालिका ३, ४, ५, ६ र ७ का सामुदायिक वन उपभोक्ता समूह लक्षित थियो ।
‘खाद्य सुरक्षा सुधार, दिगो जीविकोपार्जन र महिला सशक्तीकरण’ परियोजनाअन्तर्गत आयोजना गरिएको तालिमले वनमार्फत उत्पादन र रोजगारी सिर्जना गर्दै समुदायलाई आर्थिक रूपमा सशक्त बनाउने लक्ष्य लिएको परियोजना संयोजक उमेश जोशीले जानकारी दिए ।
तालिममा पालिकाभरिका ९५ जना सामुदायिक वन उपभोक्ता र कृषक समूहका प्रतिनिधिहरू सहभागी थिए । उनीहरूलाई वन व्यवस्थापन, नवीकरण, वनमा आधारित उद्यमको सम्भाव्यता, उत्पादन र बजारीकरणका विषयमा जानकारी दिइएको साहारा नेपाल बझाङका बोर्ड सचिव जनक द्वालले बताए ।
तालिममा सहभागी ‘दुदिल्ला कृषक समूह’का अध्यक्ष दलबहादुर कठायतले सामुदायिक वनको नवीकरणमा आर्थिक अभाव मुख्य बाधा रहेको बताए ।
तालिमका प्रमुख प्रशिक्षक तथा जिल्ला वन डिभिजनका अधिकृत शम्भुप्रसाद तिवारीले सामुदायिक वनसँग सम्बन्धित ऐन, नियमावली र वन्यजन्तु संरक्षणका विधिहरूमा सहभागीलाई प्रशिक्षण दिए ।
तीनदिने तालिमको सहजीकरण साहारा नेपालका फिल्ड संयोजक दिनेश रोकायाले गरेका थिए । तालिममा सहभागीहरूले अनुभव आदानप्रदान गरेका थिए ।