परासी : नवलपरासी पश्चिमस्थित सुनवल नगरपालिका वडा नं. १० खखरीबारीमा अवस्थित हरिहर ॐकारेश्वर मन्दिरमा ॐकारेश्वर राष्ट्र कल्याण विश्व शान्ति श्रावणी महामहोत्सव २०८२ जारी छ ।
गत साउन १ गतेदेखि जारी महामहोत्सव साउन ३१ गतेसम्म चल्नेछ । महोत्सव अवधिभर चर्चित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त कथावाचक सयभन्दा बढी कथावाचकहरूले कथावाचन गर्नेछन् ।
महोत्सवमा चर्चित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त कथावाचक राधिका दासी, आचार्य शीतल कृष्णजी महाराज श्रीराम, सनातनी युवामञ्चका केन्द्रीय अध्यक्ष प्रेमसुजन शास्त्री गुरुदेवलगायतले प्रवचन दिइसकेका छन् ।
महोत्सवमा विभिन्न धार्मिक अनुष्ठानहरू, सांस्कृतिक कार्यक्रमहरू, भजन–कीर्तन, प्रवचन तथा सामूहिक पूजा–आराधना,जेष्ठ नागरिक सम्मान, वक्तृत्वकला प्रतियोगिता साथै भजन प्रतियोगिता जस्ता कार्यक्रमहरू पनि सञ्चालन गरिँदै आएको छ ।
सुनवल नगरपालिका संरक्षक, भोले बाबा सत्मार्ग सेवा समितिको विशेष सहयोगका साथै विभिन्न संघ–संस्थाहरूको समन्वय र सक्रियतामा आयोजित महोत्सवले धार्मिक पर्यटन प्रवर्धनमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
महोत्सवमा दैनिक नेपाल र भारतका विभिन्न स्थानबाट आएका भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ । परासी रामग्रामबाट युवराज पुन मगरको रिपोर्ट ।