काठमाडौं : अन्तरद्वन्द्वको चपेटामा परेको नेकपा माओवादी केन्द्रले पार्टीको स्थायी कमिटी बैठकले समस्या समाधान गर्ने बताए पनि केही निष्कर्ष निकालेको छैन । प्रमुख प्रतिपक्षी बेन्चमा रहेको संसदको तेस्रो ठुलो दल माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्मा प्रभाकरबीच चर्किएको द्वन्द्व व्यवस्थापनभन्दा पनि एक अर्कोप्रति आरोप प्रत्यारोपमै समय खर्च भएको हो ।
केही समय अघिदेखि पार्टीमा देखिएको अन्तरविरोध छताछुल्ल भए पनि नेताहरूबीच त्यसलाई व्यवस्थापन गर्ने भन्दा झगडालाई थप चर्काउने काम भइरहेको माओवादीकै एकाथरि नेताहरूले बताएका छन् । प्रचण्ड–प्रभाकर को मनमुटाव सार्वजनिक रूपमै बाहिरिएको विषयमा जिम्मेवार नेताहरूले जिम्मेवार ढंगबाट समस्या समाधान गर्न लाग्नुपर्ने नेकपा माओवादी केन्द्रका सचिव राम कार्कीले बताए ।
शनिबार र आइतबार चलेको माओवादीको स्थायी कमिटी बैठकमा यो विषयले त्यति प्राथमिकता नपाए पनि दुवै नेताहरूबीच आपसी छेडखानी चल्यो । बैठकमा उपमहासचिव प्रभाकरले पार्टी नेतृत्वले नै आत्मालोचना गर्नुपर्ने बताएका थिए । आफूले पार्टीलाई वैचारिक र सैद्धान्तिक दृष्टिकोणबाट बलियो बनाउँदै आफ्ना एजेन्डामा बलियो पार्टी बनाउन उठाएका विषयलाई पार्टी नेतृत्वबाटै पार्टी फुटाउने हल्ला चलाइएको भन्दै शर्माले असन्तुष्टि जनाएका छन् । ‘विगत दुई वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भनेर हल्ला गरिँदै आएको छ । यसले पार्टीको हित गर्दैन,’ उनले भने, ‘यो प्रकरणमा नेतृत्वबाट आत्मालोचना हुनुपर्छ ।’
शर्माले बैठकमा पनि यही कुरालाई दोहोर्याएको एक पदाधिकारीले मध्यान्हलाई जानकारी दिए । ‘पार्टी अध्यक्ष कमरेड र जनार्दन कमरेडको बीचमा देखिएका केही असमझदारीका अंश पार्टी बैठकमा पनि देखापर्यो,’ उनले भने, ‘यसमा दुवै नेताबीच आत्माआलोचनाको विषय उठाइयो ।’ बैंठकमा प्रभाकरले पार्टी नेतृत्वबाटै पार्टी फुट्नेसम्मको हल्ला कसरी भयो ? मैले आफ्नो भागमा परेका गल्तीको आत्मालोचना गर्न तयार छु । तर, ३१ लाख भोटबाट ११ लाखमा पार्टी खुम्चिएको जिम्मेवारी नेतृत्वले लिनुपर्दैन ? भनेर अध्यक्ष प्रचण्डप्रति प्रश्न उठाएका उनको भनाइ छ ।
स्थायी कमिटी बैठकमा पूर्वमन्त्रीसमेत रहेका पार्टी सचिव राम कार्कीले पार्टीमा आलोपालो नेतृत्वको प्रस्तावअघि सारेका छन् । कार्कीले पार्टीभित्र नेतृत्व परिवर्तन र जनवादको अभ्यासका लागि रोटेसन प्रणालीको विकास गर्नुपर्ने धारणा राखेका बताए । ‘पार्टीमा जनवादको अभ्यासका लागि रोटेसन प्रणालीमा जाऔं भन्ने मेरो धारणा छ,’ उनले भने, ‘प्रत्येक नौ महिनादेखि एक वर्षमा रोटेसनमा नेतृत्व चलाउँदा नेताहरूको पर्फमेन्स पनि हेर्न पाइन्छ र पार्टीमा जनवादको अभ्यास पनि हुन्छ ।’ उनको यो एजेन्डाले वर्तमान नेतृत्वमाथि दबाब बढेको छ भने जनार्दनका लागि केही राहत महसुस भएको छ । तर प्रचण्ड पक्षका नेताहरूले भने सचिव कार्कीको एजेन्डा अहिले काम नलाग्ने बताएका छन् ।
तर, नेतृत्वप्रति जनार्दनले उठाएको प्रश्नलाई लिएर नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले ‘प्रभाकर’ले पार्टी नेतृत्वलाई नटेरेको आरोप लगाएका छन् । संसदमा बोल्दा पनि शर्माले पार्टीलाई स्थापित गर्नेभन्दा पनि आफूलाई फरक देखाउन खोजेको उनको आरोप छ । उनले स्थायी कमिटी बैठकमा भनेका थिए, ‘अन्तरिमकालदेखि प्रभाकर सदन, सरकारमा भएर पनि सदनमा बोल्दा पार्टी र नेतृत्वलाई स्थापित गर्नेभन्दा पनि आफू फरक हुँ भन्नेगरी बोल्नुहुन्छ ।’ संसदको मर्यादाभित्र रहेर पनि नेतृत्वप्रति संशयजनक टिप्पणी गर्ने, सरकारमा सहभागी पार्टीका तर्फबाट स्पष्ट धारणा नबोल्ने तथा आफूलाई फरक हिसाबले प्रस्तुत गर्ने प्रवृत्ति देखिनु पार्टी हितमा नभएको उनको भनाइ थियो ।
पाण्डेको यो अभिव्यक्तिले पनि जनार्दन र प्रचण्डबीच ठुलै लफडा भएको संकेत गरेको छ । बैठकबाट बाहिरिने क्रममा संक्षिप्त प्रतिक्रिया दिएका अध्यक्ष प्रचण्डले उपमहासचिव शर्माले आत्मालोचना गर्नुपर्ने जिकिर गरे । ‘यस विषयमा छलफल चलिरहेको छ,’ उनले भने, ‘जसले गल्ती गरेको हो त्यसले आत्मालोचना गर्नुपर्छ ।’
नेताबीचको विवादले उकुसमुकुस भएको पार्टीभित्र पर्याप्त बहस नहुने र वैचारिक धारमा स्खलन हुँदै गएको नेताहरूले स्वीकार गरेका छन् । बैठकमा अधिकांश नेताहरू पार्टी अध्यक्ष प्रचण्डकै पक्षमा देखिए पनि सचिव कार्कीले पार्टी नेतृत्व पनि सच्चिनुपर्ने तर्क राखेका छन् ।
यद्यपि उपमहासचिव वर्षमान पुनले भने पार्टी कमजोर हुनुमा नेतृत्वलाई मात्र दोष देखाएर पानीमाथिको ओभानो बन्न कसैले पनि नहुने बताए । ‘पार्टी कमजोर हुनुमा सबैले आआफ्ना कमीकमजोरी स्विकारेर एकताबद्ध बनाएर लैजानुपर्छ,’ उनले भने, ‘पार्टीभित्र आन्तरिक मतभेद हुन्छन् । व्यक्तिगत स्वार्थ वा समूहगत स्वार्थका लागि अन्तर्विरोध बाहिर लैजानु राम्रो हुँदैन, आफ्ना असन्तुष्टि पार्टीभित्रै राख्नुपर्छ ।’ नेतृत्वलाई कमजोर बनाउने हिसाबले बाहिर कुरा राख्दा त्यसले पार्टीलाई कमजोर बनाउने उनको भनाइ छ ।
प्रभाकरले आगामी पार्टी नेतृत्वका लागि तयार रहेको संकेत देखाए पनि प्रचण्डको अगाडि उनलाई त्यति सहज देखिएको छैन । नेताहरूसँग प्रचण्डले आफ्नो उत्तराधिकारीबारे ‘विरासत धान्ने नेतृत्व आए छाड्ने’ बताउँदै आएका छन् । तर उनी दोस्रो तहका नेता आपसमा भिडाएर नेतृत्व नछाड्ने मनस्थितिमा छन् । ‘प्रचण्ड’ र जनार्दनबीच चलेको अन्तरसंघर्षबारे स्थायी कमिटी बैठकबाट निचोड निस्कने नेताहरूले आशा गरे पनि बैठक आन्तरिक द्वन्द्व व्यवस्थापनका सवालमा निष्कर्षहीन देखिएको नेताहरूले बताएका छन् ।