काठमाडौँ : भारतका चोंगरेंग कोरेनलाई हराउँदै नेपालका रविन्द्र ढाट म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा बान्टमवेट च्याम्पियन बनेका छन् ।
गएराति भारतको नोएडामा भएको खेलमा कोरेनलाई तेस्रो राउन्डमा पराजित गर्दै रवीन्द्र च्याम्पियन बनेका हुन् । आफ्नो व्यावसायिक रेकर्ड ८-१ मा सुधार गर्दै रवीन्द्रले कोरेनको पाँच-लडाईको जितको श्रृंखलालाई भंग गरिदिए ।
रवीन्द्र उक्त उपाधि जित्ने पहिलो नेपाली फाइटर बनेका छन् । शक्तिशाली रेसलिङ र आक्रामक पावरका लागि चर्चित ‘दि इन्डियन राइनो’ उपनामले परिचित कोरेनले सुरुदेखि नै दबाब सिर्जना गर्ने प्रयास गरे पनि रवीन्द्रले शान्त संयोजन र कुशल रणनीतिका साथ जवाफ दिएका थिए ।
तेस्रो राउण्डमा खेलको मोड बदलियो । रवीन्द्रले तीव्र गतिमा प्रहार गर्न थालेपछि कोरेनलाई गम्भीर संकटमा पार्यो । अन्ततः निर्णायक कम्बिनेसन प्रहारपछि रेफ्रीले फाइट रोके र रवीन्द्रलाई टीकेओ द्वारा विजेता घोषित गरे ।
च्याम्पियन बनेपछि प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत रवीन्द्रलाई शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् “भारतका चोंगरेंग कोरेनलाई हराउँदै रवीन्द्र ढाट म्याट्रिक्स फाइट नाइट (एमएफएन १७) मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ । पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई हार्दिक बधाई ।”