पर्सा : खुला सीमा नाकाबाट हुने अवैध चोरी पैठारी र निकासी नरोकिँदा वीरगञ्जका दुई भन्सार कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आवमा वार्षिक लक्ष्य घटाउँदा पनि सोहीअनुसारको लक्ष्य संकलन गर्न चुकेका छन् ।
पर्सामा एक सय सात किलोमिटर खुला सीमा नाका र सीमावर्ती वीरगञ्ज महानगरसहित पर्साका सर्वसाधारणले अत्यावश्यक सर समान पनि सीमावर्ती भारतीय बजारबाटै खरिद गर्ने भएकाले पनि लक्ष्यअनुसारको राजस्व भेट्टाउन मुस्किल भएको हो ।
भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई गत आवमा रु. दुई खर्ब १८ अर्ब ९५ करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । तर कार्यालयले सो अवधिमा लक्ष्यको ८० दशमलव ३५ प्रतिशत अर्थात् रु. एक खर्ब ७५ अर्ब ९३ करोड राजस्व संकलन गरेको छ । विभागले कार्यालयलाई अघिल्लो आवको तुलनामा गत आवमा राजस्व संकलन गर्ने वार्षिक लक्ष्य पनि रु. २६ अर्ब ९३ करोडले घटाइदिएको थियो ।
जबकि अघिल्लो आव २०८०/८१ मा भने रु. दुई खर्ब ४५ अर्ब ८८ लाख ५० हजार ८१ हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । रु. एक खर्ब ५७ अर्ब ४० करोड ३१ लाख २८ हजार रकम मात्र राजस्व संकलन गरेको थियो ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चोरी पैठारी र निकासी खुला सीमा नाकाका कारणले चुनौतीपूर्ण रहेको बताए । “सीमावर्ती क्षेत्रमा दुवै मुलुकका जनता सहजै रूपमा आउजाउ गर्ने र रोटी बेटीको सम्बन्धका कारणले पनि खुला सीमा नाका चुनौतीपूर्ण रहेको छ”, उनले भने ।
विभागले सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई गत आवमा रु. ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर कार्यालयले गत आवभरिमा भने रु. ४९ अर्ब ८२ करोड राजस्व संकलन गरेको छ । विभागले अघिल्लो आवमा भने सुक्खा बन्दरगाहलाई रु. ६५ अर्ब ९४ करोड एक लाख २२ हजार राजस्व लक्ष्य निर्धारण गरेकामा सो अवधिमा भने रु. ४७ अर्ब ३१ करोड एक लाख ९० हजार संकलन गरेको छ ।
प्रमुख भन्सार प्रशासक लामिछानेले भन्सार विभागले अघिल्लो आवको तुलनामा गत आवमा वार्षिक भन्सार संकलन गर्ने लक्ष्य घटाएता पनि गत आवमा करिब १२ प्रतिशत भन्सार राजस्व संकलनमा वृद्धि भएको बताए । “समग्रमा अर्थव्यवस्थामा देखिएका समस्याका कारणले पनि लक्ष्यअनुसारको राजस्व संकलन हुन नसकेको हो, तर अघिल्लो आवमा भन्दा गत आवमा राजस्व बढ्नुमा भने आर्थिक गतिविधि बढ्नु नै हो”, उनले भने ।
प्रमुख भन्सार प्रशासक लामिछानेले सीमावर्ती क्षेत्रका जनताले व्यापारिक हिसाबले भन्दा पनि सामान्य घर व्यवहार र दैनिक उपभोग्य सर समान ल्याएको हुनसक्ने दाबी गरेका छन् । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बल नेपाल र प्रहरीले सीमा नाका वा सहरी क्षेत्रबाट बरामद हुने भन्सार छली तथा बिलबिजक नभएका सामानको बरामदको तथ्यांकले पनि जिल्लामा अवैध चोरी पैठारी र निकासी हुने कुरालाई थप पुष्टि गर्दछ ।
भारतसँग जोडिएको खुला सीमा नाका, स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र भन्सार प्रशासनको प्रभावकारी ढंगले काम नहुँदा पनि सीमावर्ती क्षेत्रमा अवैध चोरी पैठारी र निकासी अपेक्षाकृत ढंगले नियन्त्रण हुन भने सकिरहेको छैन ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले नीतिगत रूपमा वैध कारोबारभन्दा अवैध कारोबारले प्रक्षय पाएकाले पनि सीमावर्ती क्षेत्रमा अवैध चोरी पैठारी तथा निकासी हुने गरेको बताउँछन् । “राज्यका निकायले मुलुकको अर्थतन्त्र लयमा फर्किएको जतिसुकै दाबी गरे पनि अझैसम्म पनि लयमा फर्किएको छैन । जसको कारणले पनि अपेक्षाकृत ढंगले राजस्व बढ्न सकिरहेको छैन”, उनले भने, “उद्योग व्यवसायीको मनोबल बढाउने खालका गतिविधि नगर्दा पनि सोहीअनुसारको राजस्व संकलन हुन सकेन ।”
वीरगञ्ज भन्सार कार्यालयले गत आवमा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट मात्र रु. ८० अर्ब ९२ करोड र यातायातका साधन र तिनका पार्टपुर्जाबाट भने रु. १९ अर्ब ८२ करोड राजस्व संकलन गरेको छ । अध्यक्ष गौतमले राज्यले अपनाएको गलत भन्सार नीतिका कारणले नै सीमावर्ती क्षेत्रमा औपचारिकभन्दा अनौपचारिक ढंगले वस्तु तथा सामान आयात हुने प्रवृत्ति रहेको बताए ।
दुवै सुरक्षा निकायद्वारा पर्सामा अर्ब बढीका सामान बरामद
पर्सामा रहेका दुवै सुरक्षा निकायले एक वर्षमा रु. एक अर्ब मूल्य पर्ने भन्सार छली तथा बिलबिजक नभएका सामान बरामद भएको जनाएका छन् । जिल्ला प्रहरी कार्यालयले गत आवमा बिलबिजक नभएको भन्दै रु. ५२ करोड चार लाख ५८ हजार २९३ मूल्य पर्ने ९१ वटा मालवाहक सामान पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ । त्यस्तै गत आवमा पर्सा प्रहरीले रु. सात करोड ८९ लाख ४३ हजार ११० मूल्य पर्ने भन्सार छलीका सामान वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरेको छ ।
पर्सा प्रहरीले विशेष गरी बिलबिजकभन्दा धेरै सामान बोकेका मालवाहक सवारीसाधन, सवारीसाधनका पार्टपुर्जा हार्डवेयर, इलेक्ट्रिक्स, लत्ताकपडा, ड्राइफ्रुट्सलगायत सरसामान बरामद गर्दै आइरहेको जनाएको छ । पर्साका ग्रामीण क्षेत्रमा भारतबाट भैँसी, कुखुराको चल्ला, विभिन्न प्रकारका गुट्खा, ड्राइफुट्सलगायत वस्तु तथा सामान तस्करी हुने गरेको स्रोतले दाबी गरेको छ ।
“सहरी क्षेत्रमा पनि क्यारिङमार्फत लत्ताकपडा र मोर्टसपार्टस् अवैध रूपमा भित्रिरहेको देखिन्छ । ग्रामीण क्षेत्रमा त खुला सीमा नाकाको फाइदा उठाउँदै तस्करीका गतिविधि त सामान्य भइहाल्यो नि, सो कुरा सुरक्षा निकायले गोदाममा छापा मारेका सामानबाटै पनि पुष्टि हुने गर्छ” स्रोतले भन्यो ।
पर्साका प्रहरी प्रमुख गौतम मिश्रले सीमा क्षेत्रबाट हुने अवैध चोरी पैठारी तथा निकासी नियन्त्रणका लागि प्रयास गरिराखेको दाबी गरे । “खुला सीमा नाका भए पनि अधिकतम तस्करी रोकथामको प्रयासमा जुटिरहेका छौँ”, उनले भने ।
वीरगञ्जस्थित सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म र वीरगञ्ज भन्सार कार्यालयले संयुक्त रूपमा वीरगञ्जको सहरी क्षेत्रमा अवैध रूपमा सञ्चालन गरिँदै आएको गोदाममा छापा मारेर औसतमा सातामा दुई पटकसम्म करिब रु. सात लाखदेखि १५ लाखसम्मका अवैध लत्ताकपडा र सवारीसाधनका पार्टपुर्जालगायतका घरायसी प्रयोजनका सामान पनि बरामद गर्दै आइरहेको छ । अर्कोतर्फ सशस्त्र प्रहरीका जिल्लामा भएका अन्य युनिटले सोही परिमाणका सरसामान बरामद गर्दै आइरहेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले गत आव २०८१/८२ मा रु. ४० करोड ९१ लाख ९७ हजार ३७७ मूल्य पर्ने भन्सार छली तथा बिलबिजक नभएको सामान बरामद गरेको जनाएको छ । सशस्त्र प्रहरीले गत आवमा भन्सार छलीका रु. २८ करोड ९२ लाख ५० हजार १९९ मूल्यका सामान भन्सार कार्यालयमा बुझाएको थियो ।
त्यस्तै गत आवमा भने रु. ११ करोड ९९ लाख ४७ हजार १७८ मूल्य पर्ने बिलबिजक नभएका सामान पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको थियो । वीरगञ्जस्थित सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारी पनि विशेष सूचनाको आधारमा भन्सार कार्यालय र सशस्त्र प्रहरीले भन्सार छली गरेर अवैध रूपमा सामान संकलन गरेको गोदामबाट विभिन्न प्रकारका सामान बरामद गर्दै आइरहेको बताउँछन् ।