२०८२ साउन १६ गते शुक्रवार / Aug 01 , 2025 , Friday
२०८२ साउन १६ गते शुक्रवार
Ads

प्रचण्ड–प्रभाकर टकराव !

माओवादीमा विशेष महाधिवेशन र पुनर्गठनको प्रयास

shivam cement
जीवन शर्मा
२०८२ साउन १५ गते ०६:३५
प्रचण्ड–प्रभाकर टकराव !

काठमाडौं : संसदको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रमा लामो समयदेखि देखिएको अन्तरविरोध छताछुल्ल भएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्मा (प्रभाकर)बीचको मनमुटाव पछिल्लो समय सार्वजनिक रूपमै बाहिरिएको हो । 

पार्टी नेतृत्वले विवाद सामसुम बनाउन अनेकन ढंगले तर्कवितर्क गर्ने गरेको छ  । तर विवादको विषयले पार्टीमा उकुसमुकुस भएको छ । पार्टीभित्र पर्याप्त बहस नहुने र वैचारिक धारमा स्खलन आएको स्पष्ट सन्देश दिएका उपमहासचिव प्रभाकरलाई अध्यक्ष प्रचण्डले बेला बखत सम्झाउने र उस्तै परे थर्काउनेसमेत गर्दै आएका छन् । 

अध्यक्ष दाहालले सार्वजनिक भाषणमा कार्यकर्ताको मनोबल बढाउने गरी आफ्ना अभिव्यक्ति राख्दै आए पनि पार्टीभित्रको विवादले चरमरूप लिन लागेको माओवादी केन्द्रका नेताहरू बताउँछन् । 

‘पार्टीमा नेतृत्वको पुस्तान्तरण र वैचारिक बहस चलिरहेको कुरा सत्य हो,’ नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हिमाल शर्माले भने, ‘तर, अहिले नै प्रचण्डलाई पाखा लगाइहाल्ने अवस्था छैन । जीवन्त कम्युनिस्ट पार्टीमा वैचारिक बहस भइरहन्छन्, नेकपा माओवादी केन्द्रमा अहिले भएको त्यही हो । यस्तो बहसले पार्टी नेतृत्व परिवर्तनको विषयमा केन्द्रितभन्दा पनि पार्टीको क्रान्तिकारी धारलाई तेजिलो बनाउन सहयोग पुग्छ ।’

यद्यपि उपमहासचिव जनार्दन शर्मा पार्टी नेतृत्वका लागि अघि बढ्ने संकेत देखाए पनि प्रचण्डको अगाडि उनलाई त्यति सहज देखिएको छैन । नेताहरूसँग प्रचण्डले आफ्नो उत्तराधिकारीका बारेमा ‘विरासत धान्ने नेतृत्व आए छाड्ने’ बताउँदै आएका छन् । माओवादी नेताहरूकाअनुसार प्रचण्ड दोस्रो पुस्तालाई उठ्न दिने पक्षमा छैनन् । उनी दोस्रो तहका नेताहरू एकआपसमा भिडाएर नेता बन्ने योजनामा छन् ।

योसहित विभिन्न एजेन्डामा निर्णय लिन माओवादी स्थायी कमिटी बैठक बस्ने र त्यसैबाट दुई नेताबीचको द्वन्द्वका विषयमा समेत छलफल हुने नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले बताए ।  

‘पार्टी अध्यक्ष ‘प्रचण्ड’ र उपमहासचिव जनार्दनबीच चलेको अन्तरसंघर्षबारे स्थायी कमिटी बैठकमा छलफल हुन्छ,’ प्रवक्ता सापकोटाले भने, ‘आन्तरिक एकतालाई मजबुत बनाउनेबारे हरेक बैठकमा एजेन्डा हुन्छन् । जनार्दनजी र अध्यक्षका सन्दर्भमा भइरहेका विषय सोही बैठकमा उठाइनेछ ।’ स्थायी कमिटी बैठकलगत्तै माओवादीको पदाधिकारी बैठक बस्ने माओवादीको तयारी छ ।

प्रचण्डले प्रभाकरलाई लक्षित गर्दै आफूले पार्टीमा जति पनि सिँगौरी खेल्न दिएको बताउँदै आएका छन् । ‘पार्टीलाई मेरो भन्दा राम्रोसँग हाँक्ने कोही भए आए हुन्छ म छाडिदिन्छु भन्नुभएको छ,’ अध्यक्ष प्रचण्डको भनाइ उद्धृ्रत गर्दै उनका सल्लाहकार गोविन्द आचार्यले भने, ‘तर, अहिले नै पार्टी नेतृत्वको विकल्प खोज्नेगरी कोही नेता प्रस्तुत हुनुभएको छैन । पार्टीका समस्या र सुधार गर्नुपर्ने विषयमा वैचारिक बहस हुनु स्वाभाविक पनि हो ।’  

उता जनार्दन शर्माले भने आफूलाई पार्टी फुटाउन लागेको छ भनेर नेतृत्वकै वरिपरिबाट अनावश्यक हल्ला फिँजाइएको भन्दै असन्तुष्टि जनाएका छन्  । ‘विगत दुई वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरूप्रति सबै नेताकार्यकर्ता सचेत रहनुपर्छ ।’

पार्टी केन्द्रको निर्णयअनुसार हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग (पुष्पलाल राजमार्ग) अभियानबाट आर्जेको ऊर्जालाई दुईबुँदे सहमतिपश्चात् गिरेको पार्टीको साखलाई पुनः माथि उठाउन गम्भीर आत्मसमीक्षा गर्दै एजेन्डा केन्द्रित बहसमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ । 

‘गत वर्ष प्रदेशहरूमा भएका परामर्शपश्चात् केन्द्रीय समितिको बैठकमा भएको बहस र निर्णयअनुसार असारदेखि प्रारम्भ गरेर ६ महिनाभित्र अर्थात् मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको सन्दर्भमा अब पार्टीमा एजेन्डा केन्द्रित बहस गर्न मैले आग्रह गरेको हुँ,’ प्रभाकरले भने ।  यसो हुँदा पार्टीको पुनर्गठन, सुदृढ र व्यवस्थित गर्न मद्दत पुग्न उनको भनाइ छ ।  विशेष महाधिवेशनले पार्टीभित्रको वैचारिक अस्पष्टता, राजनीतिक अन्योलता, सांगठनिक अराजकता, विधि विहीनतासहित नयाँ पुस्ताको भावना र सपना सम्बोधन गर्ने कार्य योजना तयार पार्न पार्टीको पुनर्गठन गर्नुपर्ने उनको सुझाव छ । संविधान संशोधन, शासकीय स्वरूप, चुनाव प्रणाली, पहिचान र आर्थिक क्षेत्रको पुनर्संरचना आदि एजेन्डाहरूमा पार्टीमा छलफल हुनुपर्नेमा अहिले त्यसमा ध्यान नपुगेको प्रभाकरले बताएका छन् । 

प्रचण्डले २०५२ देखि लगभग २० वर्ष मोहन वैद्य र डा. बाबुराम भट्टराईलाई एकआपसमा भिडाएर आफैं नेतृत्वमा बसिरहन सफल भएका थिए । पछिल्लोपटक प्रभाकरलगायत प्रचण्डको टिप्पणी गर्ने नयाँ पुस्ताका नेताहरूलाई साइजमा राख्न उनले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’लाई पार्टी राजनीतिमा फर्काएर उपाध्यक्षको हैसियतमा राखिसकेका छन् ।

नेकपा माओवादी केन्द्रका नेता पेशल खतिवडा पार्टी नेतृत्वको विषय सजिलो नभएको बताउँछन् । उपमहासचिव जनार्दनको पछिल्ला गतिविधिले नेतृत्वका लागि अघि बढ्ने संकेत गरे पनि वर्तमान नेतृत्व प्रचण्डको अघि अरू नेताहरूको प्रभाव कम हुने उनको भनाइ छ । 

शुक्रबार स्थायी समिति बैठक 

यसैबीच नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ ।  शुक्रबारबाट हुने बैठकका एजेन्डासमेत तय गरिएको माओवादी नेताहरूले बताएका छन् ।  पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको माओवादी पदाधिकारी बैठकले साउन १६ गते शुक्रबारबाट सुरु हुने स्थायी कमिटी बैठकको एजेन्डा तय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । 

‘ठुलो कमिटीको बैठक बस्नुअघि एजेन्डा तय गरिन्छ । सबैभन्दा पहिला पर्सि बस्ने स्थायी कमिटीको बैठकमा पार्टी हेडक्वार्टरका तर्फबाट वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्नुहुनेछ,’ सापकोटाले भनेका छन् । त्यस्तै, पोखरामा आएर रोकिएको पार्टी अभियानलाई निरन्तरता दिने, संगठन निर्माण, नेताहरूको कार्यविभाजन र अहिलेको वर्तमान अवस्थाका साथै समसामयिक प्रस्ताव पारित गरिने उनको भनाइ छ ।

ADV

सम्बन्धित खबर

Advertise