काठमाडौं : आईएमई मोटर्सले ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’बाट सम्मानित भएको छ । अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा इन्टरनेसनल अपरेसन क्याटेगोरीअन्तर्गत सो अवार्ड पाएको हो ।
आईएमई मोटर्स र अशोक लेल्यान्डले सफल साझेदारीको एक दशक पूरा गरिरहँदा प्राप्त यो सम्मानले दुईबीचको सहकार्यमा थप ऊर्जा प्रदान गरेको कम्पनीले जनाएको छ । सो पुरस्कारले ग्राहक सन्तुष्टि, प्राविधिक दक्षता र अन्तर्राष्ट्रिय स्तरको सेवा मापदण्डमा आईएमई मोटर्सले पुर्याएको उत्कृष्ट योगदानलाई उच्च सम्मान प्रदान गरेको कम्पनीको भनाइ छ ।
आईएमई मोटर्सका सर्भिस प्रमुख मित्रकुमार श्रेष्ठले यो पुरस्कार प्रत्येक टेक्निसियन र सर्भिस टिम सदस्यहरूको निरन्तर समर्पणको प्रतिफल रहेको बताए । ‘हामी भविष्यमा पनि उत्कृष्ट सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध रहनेछौं,’ सर्भिस प्रमुख श्रेष्ठले भने ।
अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स हरेक वर्ष आयोजना हुने एक अन्तर्राष्ट्रिय सम्मेलन हो, जसमा नवप्रवर्तन, सञ्चालन दक्षता र समग्र योगदानको आधारमा विश्वभरका साझेदारलाई सम्मान गर्ने गरिएको छ ।