काठमाडौं : मधेश प्रदेश अहिले सुक्खा र खडेरीको चपेटामा परेको छ । वर्षा नभएपछि अहिलेसम्म खेती हुन सकेको छैन भने कतिपय स्थानमा खाने पानीको चरम अभाब सिर्जना भएको छ ।
अहिले वीरगञ्ज महानगरपालिकाको ३२ वटै वडाहरुमा खानेपानीको चरम अभाब देखिएको छ । पालिकाको १९ नं वडा बिन्ध्यबासिनी टोल, २४ वडाको राम गडुवा टोल खानेपानीको चरम अभाब देखिएको छ ।
सो क्षेत्रमा खानेपानीको अभाव देखिएसँगै नेपाली सेना, स्थानीय सरकार तथा खानेपानी संस्थानले पानी वितरण गरिरहेको छ । हाल नेपाली सेनाको मध्य पूर्वी पृतना हेडक्वाटरको २८ वाहिनी अन्तर्गत श्री श्रीजंग गणले दैनिक ३ चरणमा (बिहान ७ बजे, दिनको २ बजे र साँझ ६ बजे) ६ वटा दमकलको सहायतामा दैनिक ९० हजार लिटर पानी वितरण गरिरहेको गणपति प्रमुख सेनानी लोकेन्द्र कार्कीले बताए ।
नेपाली सेनाले दिनको ३ पटक पानी वितरण गर्छन्, अहिले खाना पकाउन, पानी पिउन यही पानी हो हामीले स्थानीय मोटर मियाँले बताए । गाउँको सबै चापाकल, इनार, कुवा सुकी सक्यो, वर्षात पनि भएको छैन यहाँ त धेरै समस्या छ उनले सुनाए ।
स्थानीय सुरज कुमार यादवले कुनै पनि स्थानीय सरकार र राजनीतिक पार्टीले यहाँ केही सहयोग नगरेको बताए । उनले भने, ‘पानीको समस्या छ अहिलेसम्म नेपाली सेनाले मात्रा पानी दिएको छ, अरु वडा, पालिकाले केही गरेको छैन ।’