काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई पार्टी सदस्य हुनबाट वञ्चित गर्न कदापि नमिल्ने बताएकी छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले आफू राष्ट्रपति हुँदा नै पार्टी सदस्य भएको ३५ वर्ष भइसकेको र अहिले पार्टी सदस्य भएको ४५ वर्ष बितिसकेको बताइन् । पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँद हुँदै पार्टी सदस्य हुनबाट वञ्चित गर्न कदापि नमिल्ने उनको भनाइ छ ।
एमाले बनाउन आफूलगायत हजारौं नेता, कार्यकर्ता र सदस्यको रगत, पसिना, मेहनत लागेको उनले उल्लेख गरिन् । जबजले अगाडि सारेको पार्टी निर्माणसम्बन्धी अवधारणाको निष्ठापूर्वक रक्षा गर्न पनि उनले आग्रह गरिन् ।
उनले नेपाली माटोको सुवासमा विकसित भएको जबजको मार्गदर्शनमा नै एमाले निर्णायक राष्ट्रिय शक्ति बन्ने र मुलुकमा दिगो राजनीतिक स्थायित्व कायम भएर समाजवादको आधार निर्माण हुने विश्वास व्यक्त गरिन् ।
पूर्वराष्ट्रपति भण्डारीले ऐतिहासिक सफलतातर्फ उन्मुख बनिरहेको अहिलेको महत्वपूर्ण घडीमा पार्टीलाई वैचारिक रूपले थप सशक्त, सांगठनिक ढंगले अझ एकताबद्ध र सुदृढ बनाउनुपर्ने दायित्व भएको बताइन् ।