२०८२ साउन १० गते शनिवार / Jul 26 , 2025 , Saturday
२०८२ साउन १० गते शनिवार
Ads

सरकारको समीक्षा गर्दै कांग्रेस

shivam cement
जीवन शर्मा
२०८२ साउन ९ गते ०६:२५
सरकारको समीक्षा गर्दै कांग्रेस

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली र सरकारले अघि बढाएको विभिन्न विधेयकका सन्दर्भमा नेपाली कांग्रेसभित्र व्यापक छलफल हुने भएको छ । आज (शुक्रबार) नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र केही मन्त्रीलाई बोलाएर यो विषयमा छलफल गर्न लागेका हुन् ।    

प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाई लिएर कांग्रेसभित्र असन्तुष्टि चर्किएको छ । यही विषयलगायत समसामयिक राजनीतिक कुराकानीका लागि बैठक बोलाइएको सभापति देउवाको सचिवालयले जनाएको छ ।  

१७ असार  २०८१ मा एकाएक संसदका २ ठूला दल कांग्रेस–एमालेबीचको सत्ता सहकार्यको संझौतापछि मुलुकमा राजनीतिक स्थिरता, सुशासन, समृद्धि र संविधान संशोधनको एजेण्डाले पूर्णता पाउने विश्वास दिलाएका थिए । तर सरकार गठन भएको एक वर्ष वितिसक्दा समेत प्रधानमन्त्री ओली र उनको टिमका मन्त्रीहरूबाट अपेक्षाकृत काम हुन नसकेको कांग्रेसका नेताहरूले टिप्पणी गर्दै आएका छन् । पार्टी सभापति शेरबहादुर देउवालाई यो विषयमा कांग्रेस नेताहरूले दबाब दिइरहेको अवस्थामा सभापतिबाट पदाधिकारी बैठक बोलावट भएको कांग्रेसका सहमहामन्त्री जीवन परियारले बताए । 

‘हामीले २ ठूला दलको सरकार गठन गरेयता जनतामाझ आशा जगाउने र अपेक्षा पूरा गर्नेगरी काम गर्छौ भनेका थियौं’, उनले मध्यान्हसँग भने ‘तर, सरकारको एक वर्षे कार्यकालको समीक्षा गर्दा त्यस्तो भएन । जनताले महसुस गर्ने गरी सरकारका मन्त्रीहरूले काम गर्न सक्नु भएन । त्यसको जवाफ जनतालाई कांग्रेसले दिनुपरेको छ । यसले कांग्रेस पार्टीलाई नै समस्या उत्पन्न गरेको आम नेता कार्यकर्ताले महसुस गरेको अवस्था छ ।’ 

सरकारको १०० दिने हनिमुन पिरियडपश्चात कांग्रेस संस्थापन पक्षका नेता डा. शेखर कोइरालाले निरन्तर खवरदारी गर्दै आएपनि सरकारका गतिविधिमा तात्विक भिन्नता नआएको नेताहरूको बुझाई छ । यद्यपि यसको विकल्पमा भने कांग्रेस जाने अवस्थामा छैन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितका विपक्षीहरूले सरकारको विरोध गर्दै सदनदेखि सडकसम्म तताएका छन् ।  तर, सरकार पक्षले उनीहरू आवाज नसुनेको प्रतिपक्षीको गुनासो त्यत्तिकै छ । सदनमा भिजिट भिसालगायत काण्डलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डेढ महिनादेखि सदन अवरोध गर्दै आएको छ । तर सरकारले उक्त काण्डमा छानवीन गर्न टालटुले समिति बनाएर विपक्षीहरूको विरोधका बाबजुत सदन निरन्तर चलाइरहेको छ । सरकार विपक्षीसँगै सत्ताकै प्रमुख सहयात्री दल नेपाली कांग्रेसका नेताहरूको घेराबन्दीमा परेपनि आफूलाई सच्याउने बाटोमा नलागेको नेपाली कांग्रेसका सांसद हृदयराम थानीले बताए । उनले भने ‘सरकारले राम्रो काम गरोस् भनेर हामीले खवरदारी गरेका हौं, सरकारको विकल्प खोज्ने गरी लागेको होइन् । तर सरकार सच्चिएर मूलुकको भ्रष्टाचार नियन्त्रण र सुशासनको बाटोमा जान सकेको छैन् । यसको समीक्षा जरूरी छ । त्यसका लागि पार्टी नेतृत्वले आन्तरिक छलफल गर्नु पर्छ भन्ने हो ।’ 

सरकारले अघि बढाएको विभिन्न विधेयक र प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाई लिएर कांग्रेसभित्र असन्तुष्टि चर्किएको छ । यता, अनुशासन आयोगको कारबाहीले पनि इतर पक्ष बिच्किएको छ । शुक्रबार बिहान ९ बजे आफ्नै निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । उनका अनुसार बैठकमा पदाधिकारी, पूर्वपदाधिकारीसहित सरकारमा रहेका केही मन्त्रीहरूलाई पनि बोलाइएको छ । ‘बैठकमा पार्टीभित्रको आन्तरिक गतिविधि, एमालेसँगको सहकार्य र पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको समीक्षालगायत विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने भनिएको छ’, पौडेलले भने ।  

ADV

सम्बन्धित खबर

Advertise