कपिलवस्तु : कपिलवस्तुको चन्द्रौटा–कृष्णनगर सडकखण्डअन्तर्गत कृष्णनगर नगरपालिका–१ शिवानगरमा यात्रुबाहक बस पल्टिँदा १९ जना घाइते भएका छन् ।
चन्द्रौटाबाट कृष्णनगरतर्फ आउँदै गरेको भे १ ख ११८२ नम्बरको बसको स्ट्रिङ फेल भएर बुधबार दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक ईश्वर लौडारीको कमाण्डमा ११ जनाको टोलीले घाइतेहरुको उद्धार गरेको थियो ।
दुर्घटनामा १७ जना सामान्य घाइते र दुई जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेलाई थप उपचारका लागि बुटवल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ भने अन्यको शिवराज अस्पताल बहादुरगञ्जमा उपचार भइरहेको छ ।
बस चालक कपिलवस्तु शिवराज नगरपालिका–४ का करिब ४५ वर्षीय अब्बास पठान फरार रहेका छन् । उनको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ । बसका धेरै यात्रु भारतको बिहार राज्यका रहेको र बोलबम दर्शनका लागि यात्रा गरिरहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।