काठमाडौं : नेपाल पर्वतारोहण संघ (एनएमए) को अध्यक्ष पदमा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले पर्यटन व्यवसायी एवं सगरमाथा आरोही टीकाराम गुरुङलाई उठाउने भएको छ । संगठनको मंगलबार सम्पन्न केन्द्रीय कार्यसमितिको पाँचौँ बैठकले गुरुङलाई अध्यक्षमा उठाउने सर्वसम्मत निर्णय गरेको हो ।
संगठनका अध्यक्ष राजेन्द्रप्रसाद सापकोटाको अध्यक्षतामा भएको बैठकमा एनएमएको वर्तमान अवस्था, सुधार गर्न पर्ने पक्ष, नेतृत्व परिवर्तनको औचित्य र चुनावी रणनीतिका सम्बन्धमा छलफल भएको थियो । बैठकमा संगठनका संस्थापक अध्यक्ष चन्द्र रिजाल, एनएमएका निवर्तमान अध्यक्ष सन्तवीर लामासहित पर्यटन क्षेत्रका व्यक्तिहरू पनि सहभागी थिए ।
संगठनले चुनावलाई लक्षित गरी विभिन्न सरोकारवाला निकायहरूसँग संवाद र समन्वय गर्न अध्यक्ष सापकोटाकै संयोजकत्वमा सात सदस्यीय समिति पनि गठन गरेको छ । जसमा यमबहादुर खड्का, ङ्वाङ् ङिमा शेर्पा, रामबहादुर खड्का, रणबहादुर खड्का, बिष्णु पाण्डे र सोनाम याङ्जी शेर्पा सदस्यका रूपमा रहेका छन् । सो समितिले चाँडै भेलाको आयोजना गरी चुनावी रणनीति तय गर्ने संगठनका अध्यक्ष एवं समितिका संयोजक सापकोटाले बताए ।
‘एनएमएको संस्थागत विकासका लागि पनि संगठनबाट खडा गरिएका उम्मेद्वारहरूले जित्नु अनिवार्य छ, यसका लागि संगठनले सबै पक्षसँग छलफल र सहकार्य बढाउनेछ’, उनले भने । त्यस्तै, पर्वतीय पर्यटनक्षेत्रसँग सम्बन्धित व्यवसायी, आरोही र मजदुरको पक्षमा काम गर्नका लागि आफू संगठनका तर्फबाट अध्यक्षमा उम्मेद्वारी दिन लागेको पर्यटन व्यसायी एवं सगरमाथा आरोही टीकाराम गुरुङले बताए । ‘एनएमएलाई अहिलेको भन्दा गतिशिल र चलायमान बनाई पर्वतीय पर्यटनको क्षेत्रमा यसको सान्दर्भिकतालाई थप उचाइमा पु¥याउने लक्ष्य रहेको छ’, उनले भने ।
नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा नेपाल सरकारको प्राविधिक सहयोगीको रूपमा क्रियाशील एनएमए राष्ट्रिय अल्पाइन क्वलको रूपमा रहेको छ । यस संघ विश्व पर्वतारोहण महासंघ, एशियाली पर्वतारोहण महासंघलगायतसँग पनि आबद्ध छ ।