काठमाडौं गृहमन्त्री रमेश लेखकले जाजरकोट भूकम्पबाट प्रभावित परिवारलाई अस्थायी निजी आवास र्निर्माणका लागि राहत वितरण कार्य सम्पन्न भइसकेको बताएका छन् । राष्ट्रिय सभाको मंगलबारको बैठकमा मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
उनले कर्णाली र सुदूरपश्चिमका भूकम्प प्रभावित जिलामा कुल ३ अर्ब ९५ करोड ६५ लाख ५० हजार रुपैयाँ राहत वितरण भइसकेको बताए । उनकाअनुसार जाजरकोटका लागि १ अर्ब ९१ करोड ९१ लाख ७५ हजार, रुकुम पश्चिममा १ अर्ब ६१ करोड १२ लाख, सल्यानमा ७ करोड, बाजुरामा १० करोड ५० लाख, बझाङमा २५ करोड र जुम्लामा १ लाख ५० हजार रुपैयाँ वितरण गरिएको छ । उनले विपद् प्रभावित निजी आवास प्रबलिकरण, पुनर्निर्माण तथा पुनःस्थापना कार्यविधि जारी भइ कार्यान्वयनमा रहेको पनि बताए । उनले भूकम्पले भत्किएको घरहरुको डिडिए कार्य सम्पन्न भइसकेको उल्लेख गर्दै छिट्टै स्थायी आवास निर्माणका लागि राहत उपलब्ध गराउने कुरामा समेत सरकार गम्भीर रहेको बताए ।
उनले भने, ‘जाजरकोट भूकम्पबाट निजी आवासमा क्षति पुगेका घरपरिवारलाई आवास निर्माणका लागि प्रति घरपरिवार दुई किस्तामा गरी जम्मा ५० हजारका दरले १ अर्ब, ९१ करोड, ९१ लाख ७५ हजार रुपैयाँ, रुकुम पश्चिममा १ अर्ब ६१ करोड १२ लाख, सल्यानमा ७ करोड, बाजुरामा १० करोड ५० लाख, बझाङमा २५ करोड र जुम्लामा १ लाख ५० हजार गरी कुल ३ अर्ब, ९५ करोड, ६५ लाख , ५० हजार रुपैयाँ वितरण कार्य सम्पन्न भइसकेको छ । विपद् प्रभावित निजी आवास प्रबलिकरण, पुर्ननिर्माण तथा पुर्नस्थापना कार्यविधि समेत जारी भइ कार्यान्वयन भइरहेको छ । भूकम्पबाट प्रभावित कर्णाली र सुदूरपश्चिममा ७६ हजार ३०८ घरधुरीको डिडिए सम्पन्न भइ डाटा भेरिफिकेसनको कार्य भइरहेको छ ।’
स्थायी आवास निर्माणका लागि बजेटको सीमा र गम्भिर्यतालाई हेरेर राहत वितरण गरिने उनको भनाइ छ ।