काठमाडौं : नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले कांग्रेसको कोर भ्याल्युमा एमालेले आक्रमण गरिरहेको आरोप लगाएका छन् ।
बीपी स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकामा एउटै पार्टीको नेतृत्व नहुने स्थितिमा मिलेर सरकार बनाउने कुरा राम्रो भएपनि आफ्नो महत्व कांग्रेसले बिर्सिन नहुने बताए ।
अहिले कांग्रेसको महत्वमाथि कम्युनिष्टहरुले आक्रमण गरिरहेको उनले बताए । कुलिङ अफ पिरियडमा कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुलिङ पिरियड हटाउने र ढिलो गर्नेकुरा स्वीकार्य हुन नसक्ने बताउनसक्नुपर्ने उल्लेख गरे ।
सच्याउने नाममा राष्ट्रिय सभामा एमाले सांसदहरुले कुलिङ पिरियड हटाउनुपर्छ भनेर संशोधन हाल्नेकुरा नेपाली कांग्रेसको कोर भ्याल्युमा आक्रमण गर्नु रहेको उनले बताए ।
सांसद कोइरालाले भूमिसम्बन्धी विधेयक पारित गर्न किन हतार भएको ? भन्दै प्रश्न गरे । भूमि विधेयकमाथि छलफल गर्न एमाले सांसदहरु डराइरहेको उनको आरोप छ ।
सांसद कोइरालाले कांग्रेस चुपचाप लागेर बस्न नहुने बताए । भ्रष्ट मन्त्रीहरु अहिले पनि सरकारमै रहेको उनले आरोप लगाए ।