काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी पदाधिकारी हेरफेरको विवरण अद्यावधिक गर्न विलम्ब गरेको बारेमा निर्वाचन आयोगमा गएर जानकारी लिएको छ । आइतबार पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीसहित पार्टीको कानुन विभागका सदस्यहरुले आयोगमा पुगेर यसबारे चासो राखेका हुन् ।
निर्वाचन आयोगका कार्यकारी प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँगको छलफलपछि आयोगले आफूहरुले अद्यावधिक गरिरहेको जानकारी दिएको महामन्त्री बुर्लाकोटीले बताए ।
उनले पार्टीको पदाधिकारी हेरफेरको विवरण अद्यावधिक गर्न विलम्ब गरेको अवस्थाबारे आफूहरुले आयोगलाई झक्झक्याएको बताए । आयोगले पार्टीले दिनुपर्ने कागजातहरु सबै पुगेको जानकारी गराएको पनि उनले बताए ।
पार्टीले २०८१ असार १७ गतेदेखि विवरण बुझाएको र विवरण हेरफेर भएका कुरा पटक-पटक बुझाएपनि अद्यावधिक नगरिएको आरोप उनको छ । अद्यावधिकको काम द्रुत गतिमा अघि बढ्नुपर्ने माग आफूहरुले राखेको उनले बताए ।