काठमाडौं : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले यस वर्षको ‘अनेसास लक्ष्मण सत्याल सर्वोत्कृष्ट गीति गजल पुरस्कार’ साहित्यकार लक्ष्मण सिटौलालाई दिने भएको छ । सिटौलालाई ‘धर्तीको ध्वनि’ गीति संग्रहका लागि उक्त पुरस्कार दिन लागिएको हो ।
शनिबार (१८ जुलाई)मा एक विशेष कार्यक्रमका बिच अनेसासले पुरस्कारको घोषणा गरेको हो । यस पुरस्कारको राशि ५ सय अमेरिकी डलर रहेको जनाइएको छ ।
सिटौलाको ‘धर्तीको ध्वनि’ गीति संग्रहमा २ सय ५० भन्दा बढी गीतहरू समावेश छन् । जुन संग्रहभित्रका गीतहरु नेपालका ख्यातिपात्र गायक–गायिकाहरूले गाइसकेका छन् ।
अनेसासले संसारभरि छरिएर रहेका नेपाली साहित्यकारहरुबाट नेपाली साहित्यका विभिन्न विधामा लेखिएका पुस्तकहरूको मूल्यांकन गरी पुरस्कार दिने गरेको छ । १५ सय अमेरिकी डलरको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारका साथ छन्दकविता, गद्यकविता, गीत/गजल/मुक्तक, कथा, उपन्यास, निबन्ध, नियात्रा÷संस्मरण, समालोचना, संस्कृति÷दर्शन, बालसाहित्यको सर्वोत्कृष्ट कृतिलगायतका विभिन्न ११ विधामा पुरस्कार प्रदान गर्ने गरेको छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा अनेसासको केन्द्रीय कार्यालय संयुक्त राज्य अमेरिकाको वाासिङ्टन डीसीमा एक विशेष समारोहका बिच पुरस्कार वितरण गरिने जनाइएको छ । साहित्यकार सिटौला साहित्यिक कर्मसँगै पत्रकारितामा पनि सक्रिय छन् ।