काठमाडौं : लामो छटपटीपछि नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतम नेकपा एकीकृत समाजवादीमा समाहित भएका छन् । नेकपा एमाले र माओवादी केन्द्रबीच बनेको नेकपा फुटेर एमाले–माओवादी आ–आफ्नो बाटो लागेपछि मझ्धारमा अल्मलिएका नेता गौतम निकै लामो समयको पर्खाइपछि अन्ततः नेकपा एसमा प्रवेश गरेका हुन ।
यसबीचमा एमालेमै फर्कने तयारी गरेपनि एमाले अध्यक्ष केपी शर्मा ओली र गौतमबीच पदीय जिम्मेवारी लेनदेनमा कुरा नमिलेपछि उनी फेरि अलमलमा थिए । नेकपा एमाले विभाजन गरी नयाँ माधव नेपालले नयाँ पार्टी घोषणा गर्दा गौतम पनि नेपाल पक्षमै थिए ।
तर उनी अरूको नेतृत्वमा बनेको सानो दलमा बस्ने भन्दा पनि आफै संयोजक भएर एकता अभियानका नाममा अभियान चलाउने र स्थापित पार्टी एमालेमै महत्वपूर्ण जिम्मेवारीसहित जाने योजनामा थिए । यद्यपि उनलाई त्यो अवसर जुरेन ।
अन्तमा शुक्रबार माधव नेपाल नेतृत्वको नेकपा एसमा प्रवेश गरेका नेता गौतमले आफू यो पार्टीमा आउन ४ वर्ष लागेको भन्दै ४ वर्षअघि नै पार्टीमा आएको भए समाजवादको अभियान अगाडि बढीसक्ने दाबी गरे ।
नेता गौतमलाई मञ्चमा बसेका नेताहरू माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल लगायतले स्वागतका लागि खादामाला सहित स्वागत गरे । ३ नेताबीच गला मिलाएर खुसी साटासाट भइरहँदा नेकपा एसभित्रको तनाव त्यत्तिकै गहिरो बन्दै गएको छ । पार्टी स्थापनाकालमा माधव नेपाललाई हात समाएर पार्टी दर्ता प्रकृयामा महत्वपूर्ण भूमिका खेलेकी पूर्व सचिव रामकुमारी झाँक्री पार्टीका नेकपा एसमा रहने–नरहने टुंगो छैन् । सो दलका दर्जनौ नेताहरू एमालेमै फर्किसकेका छन् । तर, पार्टीमा पूर्व सहकर्मीहरू माधव नेपाल, झलनाथ खनाल र वामदेव एकै ठाउँमा उभिएका छन् ।
यो अभियानले समाजवाद निर्माणको यात्रा तय गरेको नेता गौतमले दाबी गरेका छन् । उनले भनेका छन ‘ नेकपा एससँगको सहकार्यले समाजवादको यात्रा सुरू गरेको छ । मेरो अभियान यहाँबाटै पुरा गर्न सक्ने ठानेर मैले पुराना साथिहरूसहित एकै ठाउँमा रहने निर्णय गरेको हुँ ।’ कम्युनिष्ट पार्टी एकता, समाजवाद निर्माण आफ्नो उद्देश्य रहेको गौतमले बताए । तर, कतिपय नेताहरू गौतमको यात्रा अस्थिर हुने भएकाले उनी नेकपा एसमा पनि कति बस्न सक्छन भन्ने शंसय व्यक्त गर्दै आएका छन् ।