दोहा, कतार : नवोदित साहित्यिक वाचनालय कतारले आफ्नो सत्रौँ अधिवेशन, नवोदित कृति अवार्ड र कृति विमोचनसहित अनेसास नवोदितको १६० औ वाचन डबली शुक्रबार सम्पन्न गरेको छ ।
वाचनालयका अध्यक्ष सन्दीप थपलिया ‘सानु’को सभाध्यक्षता तथा एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतमा सम्पन्न भएको हो ।
अनेसास कतार च्याप्टरका का.वा.अध्यक्ष दिलीप पराजुलीसहित विभिन्न संघसंस्था प्रमुख तथा प्रतिनिधिको आतिथ्यता रहेको कार्यक्रममा कोषाध्यक्ष सुजाता डिसीले स्वागत मन्तव्य राखेकी थिइन् ।
डबली र नवोदित सम्मान
कार्यक्रममा डबलीमा विशेष रचना वाचन समेत गरिएको थियो । आदिकवि भानुभक्त आचार्यको २११औं जन्मजयन्ती समेत मनाइएको कार्यक्रममा साहित्यकार श्यामराज रानाभाट र सिताराम थापाले आफ्ना रचना वाचन गरेका थिए ।
स्रष्टा सम्मान अन्तर्गत नवोदितका प्रमुख सल्लाहकार नारायण भण्डारीलाई सम्मान गरिएको थियो । वाचनालयले पहिलो पटक नवोदितका आजीवन सदस्य समेत रहेका मध्यान्हकर्मी पत्रकार तिलु शर्मा पौडेललाई पत्रकारका रूपमा सम्मान गरेको छ । विशेष रचना वाचन गर्ने साहित्यकारद्वयलाई समेत सम्मान गरिएको थियो ।
नवोदित कृति अवार्ड प्रदान
कतारमा बस्दा या कतार छाडेर गएपछि लेखिएका नेपाली भाषाका सेवकहरूको कृतिलाई ‘नवोदित कृति अवार्ड’प्रदान गर्दै नवोदितले हौसला बढाउँदै आइरहेको छ । आठौँ संस्करण अन्तर्गत ‘नवोदित कृती अवार्ड –२०८२’मा दर्ता भएका कृतिहरू मध्यबाट गीति संग्रह ‘अरब’ले उक्त अवार्ड जितेको छ ।
प्रेम प्रसाद भट्टराई अरबका लेखक हुन् भने उनले अवार्डसँगै ५ हजार ५ सय ५५ रुपैयाँ नगद पनि प्राप्त गरेका छन् । सम्मान ग्रहण लगत्तै बोल्दै विजेता भट्टराईले आफ्नो साहित्य लेखनमा आजको दिन सुनौलो र अविष्मरणीय रहेको बताए ।
कृति अवार्ड यसअघि महेन्द्र अदृश्य राई ‘अदृश्यको प्रतिबिम्ब’कविता संग्रह २०६९, भानु सुनुवार ‘रहरको बिस्कुन’गजल संग्रह २०७०, लेख कार्की मन्दिर गजल संग्रह २०७२, विनोद खड्का ‘ओला’नियात्रा संग्र्रह २०७४ र मीनराज वसन्त ‘पिपिरी’उपन्यास २०७६, होम कार्की‘सनैया’२०७८, शोभाराम ओली‘सुलभ’ २०८० ले अवार्ड जिति सकेका छन् ।
कृति विमोचन
कतारमा रहेका नेपाली साहित्यमा कलम चलाउँदै आएका रोल्पा जिल्लाको परिवर्तन गाउँपालिका वडा नं. २ मा धन बहादुर ओली र नन्दकली ओलीको कोखबाट विक्रम सम्बत २०३८ साल असोज २५ गते जन्मिएका शोभाराम ओलीको नवकृति अटेलिस् जोइ विमोचन गरिएको छ ।
उक्त पुस्तक कार्यक्रमका प्रमुख अतिथि भट्टसहित कार्यक्रममा उपस्थित पाहुनाहरूले संयुक्त रूपमा विमोचन गरेका हुन् । पुस्तकको बारेमा साहित्यकार सिताराम थापाले समीक्षा गर्दै पुस्तक पठनीय रहेको बताए । त्यस्तै अर्का साहित्यकार खेमराज सुवेदीले नेपाली साहित्यमा नयाँ कृति थपिएको धारणा राख्दै कृति बहुआयामीक रहेको धारणा राखे ।
आई एड सम्मको अध्ययन गरेका ओलीका अधुरो जीवन (उपन्यास २०६२), परदेशमा व्यथित मन (गजल संग्रह २०७४), परदेशी सपना (मुक्तक संग्रह २०७५) अथाह(बाछिटा संग्रह २०७९) र सुलभ (उपन्यास २०८०) यसअघि नै प्रकाशित भइ सकेका छन् ।
यस्तै अधिवेशनमार्फत शोभाराम ओलीको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध चयन भएको छ ।
समितिको प्रथम उपाध्यक्ष शिव सुवेदी, द्वितीय उपाध्यक्ष पूर्ण कान्छा गुरुङ, पुस्तकालय संयोजक गोविन्द उदासी, महासचिव खिम पुन, सचिव सुजाता डिसी, कोषाध्यक्ष रफि मियाँ, सहकोषाध्यक्ष शान्ता थपलिया रहेका छन् ।
कार्यसमितिका सदस्यहरूमा प्रदीप दाहाल, गणेश बस्याल, राम प्रसाद लुइँटेल र किरण ढकाल रहेका छन् । नव निर्वाचित पदाधिकारीहरूलाई निर्वाचन समिति का संयोजक दिल कुमार श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि भट्टले विमोचन भएको कृति १००० प्रति खरिद गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले कतारको एनआरएनएको पछिल्लो घटनाक्रमलाई लक्षित गर्दै नेपाली समाज बिचौलियाले बिगारेको दाबी गरे । भट्टले तीन डलर तिरेर एनआरएनए आइसीसीको सती जान नहुने बताउँदै अदालतको पूर्ण फैसला नआउन्जेल कतारको एनसीसीलाई समाजको बिचमा राख्नुपर्ने आवश्यकता औँल्याए ।
भट्टले श्रमिकको हितमा बाहेक अन्य क्षेत्रमा कुनै रकम नखर्चिएको हुँदा कतारका नेपाली एनआरएनए हैनन् भन्ने जानकार आफू रहेपनि श्रमिकका हितमा काम गर्न यो संस्थाको आवश्यकता रहेको बताए । आउँदो शुक्रबार ११ औं अधिवेशन पश्चात् आफूले एनसीसीको कार्यकारी समाजकै माझमा हस्तान्तरण गर्न लागेको हँुदा सबैले एनसीसीलााई साझा बनाउन सहयोग गर्न अनुरोध गरे ।
वाचनालयका महासचिव शिव सुवेदीले सहजिकरण गरेको कार्यक्रममा कार्यप्रगती क्युआर कोडमार्फत सार्वजनिक गरिएको थियो । अधिवेशनको समापन गर्दै सभाध्यक्ष थपलियाले कार्यकालमा केही नयाँ गर्ने प्रयास गरेको बताए ।