२०८२ असार ३२ गते बुधवार / Jul 16 , 2025 , Wednesday
२०८२ असार ३२ गते बुधवार
Ads

विद्याले बनाइन् छुट्टै ‘मञ्च’

shivam cement
जीवन शर्मा
२०८२ असार ३२ गते ०६:१५
विद्याले बनाइन् छुट्टै ‘मञ्च’

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटनको असंवैधानिक निर्णय सदर गरेको प्रशंगले आफूलाई सधैं पछ्याइरहने बताएकी छन् । 

मदन भण्डारी फाउण्डेसनले मंगलबार गरेको पत्रकार सम्मेलनमा भण्डारीले वैधानिक व्यवस्था बमोजिम राष्ट्रपतिको हैसियतमा प्रतिनिधि सभा विघटनको निर्णय सदर गरेको बताइन् । 

२ कार्यकाल राष्ट्रपति बनेर एमालेको सक्रिय राजनीतिमा फर्किएकी भण्डारीले आफ्नो कार्यकालमा भएको २ पटककै प्रतिनिधि सभा विघटनको निर्णय सदर गरेकी थिइन् । 

सर्वोच्च अदालतको संवैधानिक इजलासले दुवैपटक भएको प्रतिनिधि सभा विघटनको निर्णय उल्ट्याइदिएको थियो । यो प्रशंग पत्रकारहरुले पूर्वराष्ट्रपति भण्डारी समक्ष राखेका थिए । 

जवाफमा भण्डारीले संसद विघटनको निर्णय दबाबमा नभई संवैधानिक कानूनी व्यवस्था अनुसार नै गरेको बताइन् । २०१७ साल, २०५१ साल, २०५९ सालमा पनि संसद विघटन भएको स्मरण उनले गरिन् । यी सबै विघटनहरुको  राजनीतिक पाटोका बारेमा आफू छलफल गर्न तयार रहेको बताएकी छन् । 

पूर्वराष्ट्रपति भण्डारीकै उपस्थितिमा मदन भण्डारी फाउण्डेसनले हिरक जयन्ती मूल व्यवस्थापन समिति घोषणा गरेको छ । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा समिति घोषणा गरिएको छ । 

यो समितिले वर्षभर जननेता मदन भण्डारीको व्यक्तिगत चर्चा, जनताको बहुदलीय जनवाद (जबज) र एमालेको लोकतान्त्रिकरणबारे छलफल गर्ने भनिएको छ । 

समिति घोषणाकै क्रममा पूर्वराष्ट्रपति भण्डारीलाई प्रतिनिधि सभा विघटनको निर्णय सदर गर्नेदेखि एमालेको राजनीतिमा फर्कदा देखिने प्रतिकुलताबारे प्रश्न राखेका थिए । प्रतिनिधि सभा विघटनको निर्णय सदरबारे संक्षेपमा जवाफ दिएकी पूर्वराष्ट्रपति भण्डारी एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीप्रति चाहिँ चर्को सुनिएकी थिइन् । 

प्रतिनिधि सभा विघटनको निर्णय राजनीतिक पक्षमाथि बहस हुन सक्ने भनेर ओलीलाई अप्ठ्यारो पारेकी भण्डारीले एमालेमा नेतृत्वका लागि थुप्रै विकल्प रहेको बताइन् । ओलीले केही दिन अगाडि झापा पुगेर ‘ओली बिनाको एमाले’ संभव नरहेको बताएका थिए । 

जवाफमा भण्डारीले मदन भण्डारी नहुँदा पनि एमाले चलेको बताइन् । जबजको प्रतिवादक मदनको रहस्यमय निधन हुँदा पनि सिद्धान्त, नीति र कार्यक्रमले एमाले यहाँसम्म आइपुगेको बताइन् । 

सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीले आगामी केन्द्रीय समिति बैठकबाटै आफ्नो भूमिकाको खोजी हुने सन्देश पनि दिएकी छन् ।

ADV

सम्बन्धित खबर

Advertise