२०८२ असार ३० गते सोमवार / Jul 14 , 2025 , Monday
२०८२ असार ३० गते सोमवार
Ads

घोडाघोडीमा घट्यो हरिहाँसको संख्या

shivam cement
मध्यान्ह
२०८२ असार ३० गते १८:४१
घोडाघोडीमा घट्यो हरिहाँसको संख्या

कैलाली : विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा हरिहाँसको संख्या घटेको छ । यसपटक गर्मीयामको गणनामा हरिहाँसको संख्या १२६ रहेको नेपाल पक्षी संरक्षण सङ्घका फिल्ड अधिकृत हिरुलाल डगौराले जानकारी दिए ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष हरिहाँसको संख्या घटेको डगौराले बताए । अघिल्लो वर्ष हरिहाँसको संख्या २२५ रहेको थियो ।

डिभिजन वन कार्यालय पहलमानपुरको समन्वयमा नेपाल पक्षी संरक्षण संघ (बिसिएन) ले असार २४ देखि २६ गतेसम्म घोडाघोडीमा हरिहाँस गणना गरेको थियो । घोडाघोडीको सूचक प्रजाति रहेको हरिहाँसको संख्या र अवस्था अद्यावधिक गर्ने उद्देश्यले गणना गरिएको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए ।

यो तालमा गर्मी र जाडो गरी वर्षमा दुईपटक हरिहाँसको गणना गरिन्छ । नेपालको पहिलो चरा अभय आरण्य क्षेत्र घोडाघोडीमा गर्मीयाममा ३ दिनसम्म हरिहाँसको गणना गरिएको हो । डगौराले यो बेला हरिहाँसको ‘ब्रिडिङ सिजन’ रहेकाले जाडोयामको भन्दा कम देखिने गरेको बताए । गर्मीयाममा घोडाघोडीका हरिहाँस ब्रिडिङका लागि विभिन्न सिमसार क्षेत्रमा पुग्ने गरेका छन् । 

‘कैलालीको भजनी नगरपालिका–९ स्थित लौकाहाभौकाहा, घोरताल, सोनिया रुपियाँमा हरिहाँसले ब्रिडिङ गरेको पाइएको छ । जसका कारण गर्मीयाममा हरिहाँसको सङ्ख्या घट्ने गरेको छ,’ फिल्ड अधिकृत डगौराले भने । उनका अनुसार जाडोयाममा भने सीमित क्षेत्रमा मात्र पानी रहने गरेका कारण बढी मात्रामा हरिहाँस देखिने गर्दछन् । प्राकृतिक बासस्थानको विनाश, मानवीय विभिन्न गतिविधि, कृषिमा विषादी प्रयोग हरिहाँसका लागि चुनौती रहेको छ ।

घोडाघोडी ताल तराईकै ठूलो सिमसार क्षेत्रका रूपमा रहेको छ  । सन् २००३ मा घोडाघोडीलाई  विश्व रामसार क्षेत्रमा सूचीकृत गरिएको हो । त्यति बेला हरिहाँसको संख्या १ हजार थियो । घोडाघोडी संरक्षणका लागि विभिन्न निकायले काम गर्दै आएका छन् । चराको उचित बासस्थान रहेकाले पनि यस क्षेत्रलाई २०७८ फागुन २७ फागुन गते नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरिएको थियो ।

तर, पछिल्लो समय यहाँ चराहरुको सङ्ख्या घट्दै गएको चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीले जानकारी दिए । सन् २००९ देखि घोडाघोडी तालमा चरा संरक्षण नेटवर्कले हरेक वर्ष चरा गणना गर्ने गर्छ । 

घोडाघोडीमा चराको बासस्थान मासिँदै गएपछि सङ्ख्यामा कमी आउन थालेको उनले बताए । घोडाघोडीको सूचक प्रजाति हरिहाँस रहेको बताउँदै अध्यक्ष चौधरीले भने, ‘पानीमा रमाउने हरिहाँसले सुकेका रूखमा गुँड लगाउने हुँदा सुकेका रूख नासिँदै गएपछि हरिहाँसको बासस्थानमा समस्या हुने गरेको छ ।’ 

गर्मीयामको हरिहाँस गणनामा सन् २०२३ मा २१२, २०२४ मा २२५ र यस पटक १२६ पुगेको छ । घोडाघोडी क्षेत्रको सूचक प्रजातिका रूपमा मगर गोही, हरिहाँस र जङ्गली धान हुन् ।
 

ADV

सम्बन्धित खबर

Advertise