विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (एफएओ) का नेपाल तथा भुटान हेर्ने प्रतिनिधि केन सिमिजुबीच सोमबार भेटवार्ता भएको छ ।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत सञ्चालन भएका परियोजनाहरूमा सहयोग पु¥याएकोमा एफएओप्रति धन्यवाद ज्ञापन गरे । साथै, उनले प्रदेशका मध्यपहाडी जिल्लाहरूमा वातावरणीय प्रभाव न्यूनीकरण, उच्च मूल्यका फलफूल उत्पादन, बजारीकरण र व्यवस्थापनमा सहयोग गर्न आग्रह गरे ।
‘कृषि, जलवायु र विपद् व्यवस्थापन जस्ता क्षेत्रमा सहकार्य गर्दै अगाडि बढ्न सके उल्लेखनीय उपलब्धि हासिल गर्न सकिन्छ,’ मुख्यमन्त्री कार्कीले भने, ‘कोशी प्रदेश हिमाल, पहाड र तराईले युक्त जैविक र भौगोलिक विविधतायुक्त प्रदेश हो, जलवायु र कृषि उत्पादनका क्षेत्रमा धेरै सम्भावना बोकेको छ ।’
एफएओका प्रतिनिधि केन सिमिजुले प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्न आफूहरू तयार रहेको बताए । उनले कोशी प्रदेशमै सम्पर्क कार्यालय स्थापना गरी सहकार्यलाई थप प्रभावकारी बनाउने योजना रहेको जानकारी दिए ।
उनले जैविक विविधता, माटो संरक्षण, चुरे क्षेत्रको वातावरणीय प्रभाव न्यूनीकरणलगायत विषयमा एफएओले कोशी प्रदेशमा काम गरिरहेको उल्लेख गर्दै आगामी योजनाहरूमा समेत सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।