२०८२ असार २९ गते आइतवार / Jul 13 , 2025 , Sunday
२०८२ असार २९ गते आइतवार
Ads

टी–२० विश्वकप छनोटको बन्द प्रशिक्षणमा ३२ खेलाडी, आदिल अन्सारी पनि टिममा

shivam cement
मध्यान्ह
२०८२ असार २९ गते १५:४६
टी–२० विश्वकप छनोटको बन्द प्रशिक्षणमा ३२ खेलाडी, आदिल अन्सारी पनि टिममा

काठमाडौं : आगामी अक्टोबरमा ओमानमा हुने आईसीसी टी-२० विश्वकप २०२६ को एसिया छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । सूचीमा करिब तीन वर्षपछि पुनरागमन गरेका मोहम्मद आदिल अन्सारी पनि परेका छन् ।

प्रशिक्षक स्टुअर्ट लले आदिललाई स्थान दिएपछि उनी राष्ट्रिय टोलीको प्रशिक्षणमा फर्किएका हुन् । सन् २०२२ मा नेपाल टी-२० लिगमा स्पट फिक्सिङको आरोप लागेपछि प्रतिबन्ध खेपेका आदिलको प्रतिबन्ध गत वैशाखमा हटाइएको थियो ।

इन्टेग्रिटी समितिको सिफारिसपछि क्यानले आवश्यक प्रक्रिया पूरा गर्दै आदिलमाथिको प्रतिबन्ध फुकुवा गरेको थियो । अदालतले समेत उनीसहित पाँच जनालाई सफाइ दिँदै अभियोग प्रमाणित नभएको ठहर गरेको थियो ।

टोलीमा कप्तान रोहितकुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, अनिल साह, आसिफ सेख, लोकेस बम, भीम सार्की, कुशल मल्ल, आरिफ सेख र नन्दन यादव समावेश छन् । साथै, करण केसी, सोमपाल कामी, रिजन ढकाल, प्रतिस जीसी, ललित नारायण राजवंशी, गुलशन झा र रुपेश कुमार सिंह पनि टोलीमा रहेका छन् ।

यसका अतिरिक्त बसिर अहमद, साहब आलम, युवराज खत्री, किरण ठगुन्ना, सागर ढकाल, आकाश चन्द, विवेक कुमार यादव, आदिल अन्सारी, पवन सर्राफ, सन्दीप जोरा, शेर मल्ल, शुभ कंसकार, अर्जुन घर्ति र कमल सिंह ऐरी पनि टोलीमा अटाएका छन् ।

नेपाल टी-२० विश्वकपको एसिया छनोटको समूह ‘बी’ मा परेको छ । समूहमा नेपालसहित कुवेत र जापान छन् । नेपालले अक्टोबर ८ मा कुवेत र अक्टोबर १० मा जापानसँग खेल्नेछ । सबै खेल ओमानमा हुनेछ ।

९ टोली सहभागी प्रतियोगिता तीन समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट शीर्ष दुई टोली सुपर सिक्स चरणमा पुग्नेछन् । सुपर सिक्सको खेल अक्टोबर १२ देखि १७ सम्म हुनेछ । उक्त चरणको शीर्ष तीन टोलीले भारत र श्रीलंकामा आयोजना हुने टी-२० विश्वकप २०२६ मा स्थान सुरक्षित गर्नेछ ।

नेपालले छनोट प्रतियोगिता अघि तयारीका लागि अस्ट्रेलिया भ्रमण गर्नेछ । अगस्ट दोस्रो साता हुने भ्रमणमा नेपाली टोलीले टप इन्ड टी-२० सिरिजअन्तर्गत विभिन्न ६ टोलीसँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि सेप्टेम्बरमा वेस्ट इन्डिजसँग तीन खेलको टी-२० श्रृंखला पनि तय गरिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise