रौतहट : रौतहटको गरुडा नगरपालिका–९ श्रीपुरस्थित श्री माध्यमिक विद्यालयमा शिक्षकले छात्रालाई जिस्क्याएको भन्दै विद्यार्थी र अभिभावकले आक्रमण गरेका छन् ।
आइतबार शिक्षक रविन्द्र प्रसाद साहले एक छात्रालाई ‘मेरी जान’ लेखेर जिस्क्याएको आरोप लगाउँदै अभिभावक र विद्यार्थीको समूहले उनलाई कुटपिट गरेको हो । घटनामा विद्यालयको मोटरसाइकलमा समेत क्षति पुगेको छ ।
विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष राजकुमार दास तत्माका अनुसार आक्रोशित समूहले विद्यालयको संरचना र सामग्रीमा समेत तोडफोड गरेका थिए ।
शिक्षक साहले छात्राको जन्मदिनको अवसरमा ‘ह्याप्पी बर्थडे मेरी जान’ लेखेर पठाएको विषय सार्वजनिक भएपछि आक्रोश चुलिएको हो । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक ओमप्रकाश यादवको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले भिडलाई तितरबितर पार्न एक राउण्ड अश्रुग्याससमेत प्रहार गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले जानकारी दिए ।
घटनापछि शिक्षक साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने विद्यालयमा रहेका अन्य शिक्षक र विद्यार्थीलाई घर पठाइएको छ । अहिले अवस्था नियन्त्रणमा रहेको डिएसपी कार्कीले बताए ।