ललितपुर : थकाली रेष्टुरेन्टहरूको भीडमा छुट्टै स्वाद र पहिचानसहित ललितपुरको झम्सीखेलमा मार्सी थकाली किचेन एन्ड बार रेष्टुरेन्ट सञ्चालनमा आएको छ । गत शुक्रबार धार्मिक विधि विधानअनुसार पूजापाठ र अनुष्ठानपछि उक्त रेष्टुरेन्ट शनिबारदेखि व्यावसायिकरूपमा सञ्चालनमा आएको हो ।
उद्घाटनका अवसरमा रेष्टुरेन्टले ग्राहकहरूलाई दिएको छुटका कारण शनिबार हजार जनाभन्दा बढी पारखीहरूले मार्सी थकाली रेष्टुरेन्टका स्वादिष्ट परिकारको स्वाद लिए । शनिबार उल्लेख्य मात्रामा आएका ग्राहकलाई सकेसम्म सबैलाई उनीहरूका चाहनाअनुसारका परिकार ब्यन्जनबाट सन्तुष्ट तुल्याएको रेष्टुरेन्टका सञ्चालक व्यवसायी विप्लव लामाले मध्यान्ह दैनिकलाई बताए ।
२ सयको उपस्थितिमा जुनसुकै कार्यक्रम गर्न मिल्ने स्पेस रहेको उक्त रेष्टुरेन्टमा म्युजिक सिष्टमसहित डिजेहरूको पनि व्यवस्था गरिएको सञ्चालक लामाले बताए । रेष्टुरेन्टमा पार्किङको पर्याप्त सुविधा रहेको छ ।
नेपालको जुम्ला जिल्लामा सीमित मात्रामा उत्पादित हुने स्थानीय जातको धान मार्सीका परिकार उक्त रेष्टुरेन्टको मुख्य परिकार हो । समुद्र सतहबाट करिब ३ हजार मिटरसम्म उत्पादन हुने जुम्ली मार्सी धानको चामल फाइदाजनक अन्न मानिन्छ ।
धान पाक्न बढी समय लाग्ने भएकाले यसमा स्टार्च बढी हुन्छ । मार्सी थकाली रेष्टुरेन्टले मार्सी चामलको भातसँग अचार, साग, सलाद, मिक्स करी, दही, अर्गानिक कालो दाल तथा मासुको परिकार उपलब्ध गराउने मेनु तयार गरेको छ । करिब ३० जनालाई रोजगार दिएको र पाँच जनाको साझेदारीमा रहेको उक्त रेष्टुरेन्ट सबै तहका ग्राहकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको पनि व्यवसायी लामाले बताए ।