२०८२ असार २९ गते आइतवार / Jul 13 , 2025 , Sunday
२०८२ असार २९ गते आइतवार
Ads

राप्रपामा चुुलियो आन्तरिक कलह

shivam cement
जानकी पाठक
२०८२ असार २९ गते ०६:३५
राप्रपामा चुुलियो आन्तरिक कलह

काठमाडौं : संसदको पाँचौ दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा आन्तरिक कलह चुलिएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समितिका अध्यक्ष नवराज सुवेदीलाई पदबाट हटाएपछि असन्तोष चुलिँदै गएको हो ।  

लिङ्देनले असार २५ गते सुवेदीलाई पदमुक्त गरेपछि आक्रोशित बनेको इतर समूह लिङ्देनको निर्णयविरुद्ध निर्वाचन आयोगमा उजुरी दिने तयारी गरेका छन् । 

राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको पक्षमा सक्रिय संयुक्त जनआन्दोलन समितिका संयोजकसमेत रहेका सुवेदीको बर्खास्ती पार्टी विधानविपरीत भएको भन्दै आइतबार बिहान साढे ११ बजे आयोगमा जाने तयारी गरेको नेताहरूले बताएका छन् ।  

अध्यक्ष लिङ्देनले सुवेदीलाई हटाउँदै पार्टी उपाध्यक्ष रोशन कार्कीलाई अनुशासन समितिको अध्यक्ष र प्रवक्ता सगुन सुन्दर लावतीलाई पदबाट हटाका थिए । सोही विषयलाई लिएर शनिबार संस्थापन इतर समूहले महामन्त्री धवलशमशेर राणाको अपार्टमेन्टमा भेला गरेका थिए । यसअघि लिङ्देनले महामन्त्री धवलशम्शेर राणालाई संगठन विभाग प्रमुखबाट हटाइसकेका छन् । 

शनिबारको भेलामा पार्टी निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, पूर्वमन्त्री हरिबहादुर बस्नेत, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्री कुन्तीकुमारी शाही, बर्खास्तीमा परेका प्रवक्ता सगुन सुन्दर लावती, प्रवीणकुमार थोकर तामाङ, प्रेम बलायर, ऋषिराज देवकोटा, सौरेन्द्रबहादुर शाह, जनकराज पाठक, रञ्जन कार्की, मिना शाही, कर्णबहादुर शाही, किशोर कार्की र निरञ्जन थापालगायत नेताहरूको उपस्थिति थियो । भेलामा लिङ्देनले विधानविपरीत ढंगले आलोचकहरूलाई लक्षित गरी पदमुक्त गरिरहेको भन्दै तीव्र आलोचना गरेका छन् । 

तर, अध्यक्ष लिङदेनले पार्टीमा आफ्नो कुनै गुट नभएको बताएका छन् । संस्थापन इतर नेताहरूको भेलालाई लक्षित गर्दै उनले भने, ‘पार्टीभित्र मेरो गुट छैन, मेरो पार्टीभित्र कोही विपक्षी छैन, जसले पार्टीलाई मुठ्ठीमा राख्न खोज्छ, नयाँ मान्छेहरू आउँदा शत्रु आए जस्तो ठान्छ । ती मानिसहरूसँग मेरो फरक मत छ ।’ नयाँ मानिसहरू नआई पार्टी ठूलो बन्दै नबन्ने भन्दै अध्यक्ष लिङदेनले कांग्रेस, एमाले, माओवादीबाट मानिसहरू ल्याउनुपर्ने बताए । 

गत १५ चैतमा भएको राजावादीहरूको हिंसात्मक आन्दोलनसँगै नेताहरूबीच असन्तुष्टि बढ्न थालेको थियो । पूर्वपञ्च सुवेदी नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समितिमा जानकारी नै नििदई आफूलाई सदस्य राखेकोप्रति लिङ्देनले आपत्ति जनाउँदै उक्त समितिमा नरहने वक्तव्य जारी गरेका थिए । त्यस्तै पार्टीका उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणलाई समेत सो समितिमा नबस्न पार्टीले निर्देशन गरेको थियो । तर, पार्टीको निर्देशन नमानी सुवेदीकै समितिको जिम्मेवार पदमा बसेर १५ चैतको आन्दोलनमा सहभागि भएर उक्त आन्दोलनलाई हिंसात्मक बनाउन सहयोग पुर्‍याएको पार्टीका नेताहरूले आरोप लगाउँदै आएका थिए ।  

तर, सुवेदी सहितका नेताहरूले भने राप्रपाले राजाको एजेण्डालाई पूर्ण सहयोग नगरेको भन्दै प्रश्न उठाउँदै आएका छन् ।  राजावादीहरूको गरेको तीनकुने आन्दोलनमा २ जनाको ज्यान गएको थियो भने व्यक्तिका दर्जनौं भवनहरू क्षति गरेका थिए ।  सो आन्दोलनमा संलग्न राप्रपाका उपाध्यक्ष मिश्र र महामन्त्री राणामाथि मुद्दा विचाराधीन छ । अध्यक्ष लिङदेनले राजावादी आन्दोलन आफ्नो नेतृत्वमा नभएको, सहयोगमात्रै गरेको भन्ने कुरा पार्टीकै नेताहरूले बुझ्नुपर्ने बताए । राजसंस्थाको विषयमा असहयोग गरेको सन्दर्भमा अध्यक्ष लिङदेनले आजै गणतन्त्र समाप्त भएर राजालाई नारायणहिटीमा राख्ने चाहना रहेको जिकीर गरे ।

पार्टीमा नयाँ व्यक्तिहरूको आगमनलाई स्वागत गर्नुपर्ने भएकाले केही जिम्मेवारी हेरफेर गरिएको उनले बताएका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise