काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनलले कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको पचास करोड रुपैयाँ बराबरको पहिलो खुलामुखी योजना ‘सिटिजन्स सदाबहार योजना’ सञ्चालन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त भएको छ । यो योजना असार १३ गतेदेखि असार २७ गतेसम्म बैंकिङ समयभित्र इकाई बिक्रीका लागि खुला गरिएको कम्पनी सचिव रमेश लुईटेलले जानकारी दिएका छन् ।
योजनाको प्राथमिक निष्कासनअन्तर्गत इच्छुक इकाईधनीहरूले असार २७ गते शुक्रबार साँझ ५ बजेभित्र आवेदन दिनसक्ने उनले बताए । आवेदन मेरो शेयर खातामार्फत् वा सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखाबाट दिनसक्ने व्यवस्था मिलाइएको छ ।
सो योजनामा सहभागी हुनका लागि न्यूनतम एक सय इकाई र अधिकतम पाँच लाख इकाई अर्थात न्यूनतम एक हजार रुपैयाँदेखि अधिकतम पाँच करोड रुपैयाँसम्मको आवेदन दिन सकिने जनाइएको छ । योजनाको वित्तीय प्रक्षेपणअनुसार यसले औसत वार्षिक १५.१० प्रतिफल दिने अनुमान गरिएको छ ।