२०८२ असार २५ गते बुधवार / Jul 09 , 2025 , Wednesday
२०८२ असार २५ गते बुधवार
Ads

छानबिन नसकिएसम्म एनपीएलको काम नगर्न क्यानलाई निर्देशन

shivam cement
मध्यान्ह
२०८२ असार २४ गते २०:२५
छानबिन नसकिएसम्म एनपीएलको काम नगर्न क्यानलाई निर्देशन

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा देखिएको सम्भावित आर्थिक अनियमितता तथा प्रक्रिया उल्लंघनको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि त्यसको छानबिन प्रक्रिया तीव्र बनाइएको छ । यसै क्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत गठित छानबिन कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) लाई कडा शैलीमा पत्र पठाउँदै अख्तियारमा परेका उजुरीका विषयमा स्पष्ट जवाफ दिन निर्देशन दिएको छ  । साथै छानबिन नसकिएसम्म एनपीएलको दोस्रो संस्करणका लागि कुनै पनि गतिविधि नगर्नसमेत निर्देशन दिइएको छ ।

राखेपकी बोर्ड सदस्य तथा कार्यदल संयोजक रञ्जना प्रधानको हस्ताक्षरसहित आइतबार पठाइएको पत्रमा भनिएको छ, ‘कार्यदलले माग गरेको वा उजुरीमा उल्लेखित विषयवस्तुका सम्बन्धमा आवश्यक कागजात, सूचना र तथ्य प्रदान नगरी केवल झारा टार्ने उद्देश्यले सतही उत्तर मात्र दिइएको पाइयो । यसले छानबिन निष्कर्षमा पुग्न कठिन बनाएको छ ।’ पत्रमा एनपीएल आयोजनासम्बन्धी कार्य नगर्न–नगराउन भनेर स्पष्ट निर्देशन दिइएको छ ।

पत्रमा क्यानलाई पाँच वटा मूल प्रश्नका सन्दर्भमा स्पष्ट र तथ्यपरक जवाफ दिन भनिएको छ । ती प्रश्नहरुमा सार्वजनिक खरिद ऐनको पालना नगरेको, अपारदर्शी बोलपत्र प्रक्रिया अपनाएको, विदेशी परामर्शदाता नियुक्तिमा कानुन उल्लंघन भएको, स्वदेशी प्रतिस्पर्धीलाई रोक्ने गरी सिन्डिकेट कायम गरिएको र अख्तियारमा दर्ता उजुरीको जवाफ नदिएको आरोप समावेश छन् ।

विशेष रूपमा भारतीय नागरिक मनिष सुदर्शन पाण्डेलाई परामर्शदाता नियुक्त गर्दा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ४४(२) उल्लंघन गरिएको आरोप लागेको छ । साथै एनपीएलको प्रसारण अधिकारसम्बन्धी बोलपत्र प्रक्रिया पारदर्शी नबनेको तथा प्रतिस्पर्धा गर्न नसक्ने गरी मापदण्ड तोकिएको भनिएको छ ।

खेलकुदमन्त्री तेजुलाल चौधरीको निर्णयअनुसार गठन गरिएको छानबिन कार्यदलले प्रतिवेदन मन्त्रालयमै बुझाउनेछ । संयोजक रञ्जना प्रधानले यसअघि पनि क्यानलाई प्रश्नसहित पत्र पठाइएको, तर चित्तबुझ्दो जवाफ नआएपछि पुनः पत्राचार गरिएको जानकारी दिइन् ।

तर राखेपका सदस्य सचिव टंकलाल घिसिङले भने कार्यदल मन्त्रालयअन्तर्गत रहेकाले परिषद्को सिधा संलग्नता नरहेको तर्क गरेका छन् ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दले छानबिन कार्यदलबाट पत्र आएको स्वीकार गर्दै, जवाफ तयार गर्न एनपीएल गभर्निङ काउन्सिलका संयोजक तथा क्यान सचिव पारस खड्कालाई निर्देशन दिइसकेको बताएका छन् ।

चन्दका अनुसार क्यानको आगामी बोर्ड बैठक जुलाईको अन्तिममा बस्नेछ र सो बैठकमा छानबिन पत्र, जवाफ र एनपीएलका विषयमा छलफल गरिनेछ । उनले दोस्रो संस्करण अझ भव्य हुने दाबी गर्दै एनपीएल रोक्नुपर्ने कारण आफूले नदेखेको प्रतिक्रिया दिएका छन् ।

एनपीएलको पहिलो संस्करण २०८१ साल मंसिर १५ देखि पुष ६ सम्म कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आयोजना गरिएको थियो । प्रतियोगिता भव्य रूपमा सम्पन्न भए पनि आयोजनासँग जोडिएका आर्थिक तथा प्रक्रिया सम्बन्धी विषयमा विभिन्न असहमति र आरोपहरू सार्वजनिक भए । यसै आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २०८१ माघ १२ गते उजुरी दर्ता भएको हो ।

त्यसपछिको दुई दिनमा मन्त्रालयले छानबिन गर्न कार्यदल गठन गरेको थियो । कार्यदलले २०८२ जेठ १४ मा क्यानलाई प्रश्नसहित पत्र पठाएको थियो । तर जवाफ अपुरो र अस्पष्ट रहेको भन्दै असार २२ गते पुनः कडा भाषा प्रयोग गरेर अर्को पत्र पठाइएको हो । यसपटक कार्यदलले १२ घण्टाभित्र स्पष्ट जवाफ दिन अन्तिम चेतावनी दिँदै कानुनी कारबाहीको संकेतसमेत गरेको छ ।

‘छानबिन कार्यदल निष्कर्षमा पुग्न नसक्ने अवस्था विद्यमान देखिएको कारणबाट अन्तिम पटक तपसिलमा उल्लेखित प्रश्नहरूको तथ्यपरक, वस्तुनिष्ठ, एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका सम्बन्धमा स्पष्ट जबाफ पेश गर्न सकिने खालको विवरण पत्र प्राप्त भएको मितिले बाह्र (१२) घन्टा भित्र पेश गर्न हुन मिति २०८२/०३/२२ को निर्णय अनुसार जानकारी गराइन्छ,’ पत्रमा भनिएको छ ।

क्यानले दोस्रो संस्करणको तयारी जारी राख्ने संकेत दिएको छ । यद्यपि छानबिन कार्य नसकिँदै कुनै पनि गतिविधि अघि नबढाउन राखेपको निर्देशनसँगै एनपीएलको भविष्य भने अन्योलमा परेको छ । कानुनी प्रक्रिया, नियामकीय स्वीकृति र छानबिन निष्कर्षको प्रतिक्षामा रहेका कारण दोस्रो संस्करण तोकिएको मितिमा हुन सक्ने वा नहुन सक्ने भन्ने विषय अझै खुल्न सकेको छैन ।

ADV

सम्बन्धित खबर

Advertise