काठमाडौं : अनलाइन शपिङ प्लेटफर्म दराज नेपालले ७.७, ‘ह्वाट द फ्ल्याश’ सेलको घोषणा गरेको छ । ७० प्रतिशतसम्मको छुट, निःशुल्क डेलिभरी, र ६० लाख बराबरका भौचरहरू सहित सो अभियान असार २३ (जुलाई ७) देखि असार २७ (जुलाई ११) सम्मका लागि दराजले घोषणा गरेको हो ।
सेल मार्फत् नेपाली उपभोक्ताहरूलाई धमाकेदार किनमेल अनुभव प्रदान गर्ने लक्ष्य दराज नेपालले लिएको छ । यस वर्षको ७.७ सेलमा स्थानीय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूको आकर्षक संयोजन देख्न पाइने जनाइएको छ । दराजकाअनुसार जारा, एचएण्डएम, एचआरएक्स र यूएस पोलो लगायतका सात प्रतिष्ठित ब्रान्डले दराजमा आफ्नो कलेक्शन प्रस्तुत गर्नुका साथै प्रत्येकले ७÷७ ओटा विशेष उत्पादनहरू केवल ७७७ मा उपलब्ध गराउनेछन् ।
मामाअर्थ, भ्यान्स, कन्भर्स, नाइकी लगायतका सय भन्दा बढी अग्रणी एफएमसीजी तथा फेसन ब्रान्डहरूले फ्ल्याट ५० प्रतिशत छुट उपलब्ध गराउने छन् । यसबाहेक उपभोक्ताहरूका लागि रोमाञ्चक अनुभव प्रदान गर्ने सोचका साथ, फास्टेस्ट फिंगर फ्ल्याश सेलमार्फत् छानिएका उत्पादनहरू ७, ७७, ७७७, र ७,७७७ रुपैयाँमा पाइने अफरहरू पनि उपलब्ध हुने जनाइएको छ ।
सेलले स्वास्थ्य र सौन्दर्य, फेशन, अडियो तथा वेयरेबल्स, फर्निचर, होम डेकोर लगायत थप बिभिन्न श्रेणीमा अत्याधुनिक अफरहरूका साथ उपभोक्ताहरूलाई रोमाञ्चित बनाउने कम्पनीले आशा लिएको छ ।