काठमाडौं : हाल सर्वोच्च अदालतमा विचाराधीन जापान जाने कामदारलाई १५ वर्षदेखि ‘लुटेको’ विषय सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पनि उठेको छ । बैठकमा जापान जाने कामदारमाथि १५ वर्षदेखि शोषण भएको भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं वैदेशिक रोजगार विभाग प्रमुख प्रकाश स्नेहीले पार्टीको केन्द्रीय समिति बैठकमा जापान जाने प्रशिक्षार्थी कामदारहरू १५ वर्षदेखि लुटिएको भन्दै पार्टी नेतृत्व र सरकारको ध्यानाकर्षण गराएका हुन् ।
केन्द्रीय सदस्य स्नेहीले वैदेशिक रोजगार विभागले जापान जाइका अल्मुनाई एसोसिएसन ‘जान’ नाम गरेको एउटा एनजीओले १५ वर्षदेखि करोडौं लुट्नुका साथै हजारौं युवाहरूलाई कानुन विपरीत जापान जानबाट रोकेको बताएका छन् । स्नेहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत अन्य दलका नेताहरूको संलग्नतामा नेपाली श्रमिकहरू लुटिँदा कानुनी निकाय मुकदर्शक भएर बसेको दाबी गरे ।
जापानको कानुनले सिओई र भिसासमेत पाइसकेको कामदारलाई पुनः भाषा परीक्षा भन्दै जापान जानबाट रोक्ने र गएकाहरूबाट पनि मोटो रकम असुल्ने गरेको स्नेहीले सुनाए ।
‘जान’ भनिने जाइका अल्मुनाई एसोसिएसनले १५ वर्षदेखि कानुन विपरीत श्रमिकबाट रकम असुलेर सिन्डिकेट कायम गरिरहेको तथा भिसा र सिओई पाइसकेका कामदारलाई परीक्षामा पास र फेलको बार्गेनिङ गरी करोडौंको लुट मच्चाइरहेको वैदेशिक रोजगार व्यवसायीहरूको आरोप छ ।