२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

एमाले संकटै संकटमा छ, भविष्य के हुने हो भन्न सकिँदैन : अध्यक्ष नेपाल

Nada
२०८२ असार २० गते १४:३७
Shares
एमाले संकटै संकटमा छ, भविष्य के हुने हो भन्न सकिँदैन : अध्यक्ष नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले संकट नै संकटले ग्रस्त भएको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

ncell

उनले नेपालको राजनीतिमा मुल कम्युनिष्ट पार्टी भनिएको नेकपा एमाले अहिले निकै संकटले ग्रस्त भएको बताए । एमालेभित्र अन्तरविरोध बढ्दै गइरहेको उनको भनाइ थियो ।

नेकपा एमालेको भविष्य आगामी दिनमा के हुने हो ? सहजै भन्न सकिने अवस्था नरहेको उनले बताए । कुभलो चिताउने, कुभलो गर्ने, अनुचित काम गर्ने, व्यक्तिवादको प्रवृत्तिको शिकार हुने, निम्न पुँजीवादी प्रवृत्ति मात्रै नभइ दक्षिण अवसरवादी प्रवृत्तिमा चुर्लुम्म डुब्ने जस्ता प्रवृत्तिहरुलाई परास्त गर्नुपर्ने उनले बताए ।

अध्यक्ष नेपालले भने, ‘नेपालको राजनीतिमा मुल कम्युनिष्ट पार्टी भनिएको नेकपा एमाले अहिले निकै संकटले ग्रस्त भएको छ । अन्तरविरोध बढ्दै गइरहेको छ । अब त्यसको भविष्य के हुने हो त्यति सजिलै गरी भन्न सकिने अवस्था छैन । म त्यो पार्टीको आन्तरिक कुरामा धेरै प्रवेश गर्न चाहन्न । तर म के भन्छु भने यो कुभलो चिताउने, कुभलो गर्ने, अनुचित काम गर्ने, व्यक्तिवादको प्रवृत्तिको शिकार हुने, निम्न पुँजीवादी प्रवृत्ति मात्रै होइन दक्षिण अवसरवादी प्रवृत्तिमा चुर्लुम्म डुब्ने यस्ता जुनसुकैले प्रवृत्ति बोकेका छन् भने यो प्रवृत्ति परास्त गर्नैपर्छ ।’ अध्यक्ष नेपालले कम्युनिष्टहरुको भविष्य अझै रहेको उल्लेख गरे ।

अध्यक्ष नेपालले आफूले भ्रष्टाचार गरेको छ भनेर प्रमाण प्रस्तुत गरे जुनसुकै बलिदान दिन तयार रहेको बताए । उनले नबिराउनु, नडराउनु भन्ने आफ्नो एउटा मान्यता रहेको बताए । बिराएको छैन भने डराउनुपर्ने कुनै आवश्यकता नरहेको उनको भनाइ छ ।

उनले यो धर्तीका एक जना मान्छेले पनि माधव नेपालले भ्रष्टाचार गरेको छ भनेर तथ्य प्रमाण प्रस्तुत गरे जुनसुकै बलिदान गर्न आफू तयार रहेको घोषणा गरे । उनले आफू सधैं अनुशासन, नियम, विधिको पालना गर्ने, प्रक्रियालाई सम्मान गर्ने व्यक्ति भएको बताए । अध्यक्ष नेपालले जीवनमा चुनौतीहरुको सामना गर्ने आँटका साथ अघि बढ्नुपर्ने बताए ।

सम्बन्धित खबर