काठमाडौं : नारायणगढ–बुटवल सडकखण्डको दुम्कीबासस्थित विनयी खोलामा निर्मित पुलबाट बिहीबारदेखि यातायात सञ्चालन गरिएको छ ।
गत वर्ष पुस २६ गते विनयी खोलामा रहेको फलामे पुल भाँच्चिएपछि यातायात सञ्चालनमा समस्या आएको थियो । नवलपरासी पूर्वमा पर्ने विनयी खोलामा भाँचिएको पुल ६ महिनाभित्रै बनेर सञ्चालनमा ल्याइएको छ ।
वर्षाको समयमा खोलामा बाढी आएपछि डाइभर्सनमार्फत् सवारी चलाउन समस्या हुँदै आएको थियो । सोही स्थानमा गत असार ६ गते बाढीले यात्रुवाहक बस बगाएको थियो ।
बिहीबारबाट सोझै विनयी पुलबाट सबै गाडी गुड्न थालेको बुटवल–नारायणगढ सडक आयोजना पूर्वी खण्डका प्रमुख इन्जिनियर ईश्वर बहादुर रिजालले जानकारी दिए । उनका अनुसार बिहीबार मध्याह्न १२ बजेदेखि पक्की पुलबाट यातायात सञ्चालन भएका हुन् ।
२१ करोडका लागतमा २४५ मिटर लम्बाइको पुल बनेको छ । यहाँबाट एक पटकमा १०० टन मात्र मालसामान ढुवानी हुन सक्ने आयोजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए ।
पुलबाट यातायात सञ्चालन भएपछि मालवाहक गाडीसमेत यही पुल हुँदै वारपार गरेका छन् । बिहीबारबाट डाइभर्सन हुँदै आउजाउ गर्नुपर्ने बाध्यता हटेको छ ।
पानी पर्नासाथ बाढीले डाइभर्सन बगाउने बाध्यता समेत थियो । आयोजनाका अनुसार अहिलेसम्म ९ पटक बाढीले डाइभर्सन बगाएको छ ।
पूर्वी सडकखण्डमा ३४ वटा पुल रहेका छन् । त्यसमध्ये ३१ वटा पुल निर्माण भइसकेको खनालले जानकारी दिए । उनका अनुसार जयश्री, गिरुबारी र अरुणखोलामा पुल निर्माण हुँदै छ ।
यस सडक खण्डको सास्ती भने अझै बाँकी छ । दाउन्ने सडक खण्डको १४ किलोमिटर सडकमा पानी पर्ना साथ गाडी फस्ने हुँदा घण्टौँ जाममा पर्नुपर्ने बाध्यता यथावत् छ ।
यस सडकखण्डको प्रगति ६९ प्रतिशत भएको छ । यसको म्याद साउन ८ गते सकिन्छ ।