२०८२ असार १९ गते बिहिवार / Jul 03 , 2025 , Thursday
२०८२ असार १९ गते बिहिवार
Ads

श्रीलंकाविरुद्ध नेपालको फराकिलो जित, सावित्राको ह्याट्रिक

shivam cement
मध्यान्ह
२०८२ असार १८ गते २०:३०
श्रीलंकाविरुद्ध नेपालको फराकिलो जित, सावित्राको ह्याट्रिक

काठमाडौं : कप्तान सावित्रा भण्डारी (साम्बा)को ह्याट्रिकसहित नेपालले एएफसी महिला एसियन कप २०२६ छनोट प्रतियोगिताको दोस्रो खेलमा श्रीलंकालाई ८–० को फराकिलो अन्तरले पराजित गरेको छ । यस जितसँगै नेपालले समूह ‘एफ’मा लगातार दोस्रो जित निकाल्दै ६ अंक जोडेको छ ।

तास्केन्तस्थित बुन्योदकोर स्टेडियममा भएको खेलमा नेपालका लागि सावित्राले तीन गोल गरिन् । गीता रानाले दुई तथा निशा थोकर, रेखा पौडेल र पूजा रानाले समान एक–एक गोल गरे ।

नेपालले खेलको सुरुवातदेखि नै आक्रमक खेल प्रस्तुत गर्‍यो । खेलको सातौं मिनेटमा अनिता बस्नेतको कर्नरमा डिफेन्डर गीता रानाले हेडमार्फत नेपाललाई अग्रता दिलाइन् । २०औं मिनेटमा समीक्षाको क्रसमा अनिताले बल नियन्त्रणमा लिँदै सावित्रालाई पास दिइन्, जसलाई सावित्राले सजिलै गोलमा परिणत गरिन् ।

४२औं मिनेटमा रश्मी कुमारी घिसिङको कट ब्याकमा सावित्राले उत्कृष्ट भलीमार्फत व्यक्तिगत दोस्रो गोल गरिन् । त्यसपछि पहिलो हाफको इन्जुरी समयको १औं मिनेटमा सबिता राना मगरको क्रसमा हेड गर्दै सावित्राले ह्याट्रिक पूरा गरिन् । यससँगै सावित्राको राष्ट्रिय टिमका लागि कुल गोल संख्या ६४ पुगेको छ । नेपालले पहिलो हाफमै ४–० को स्पष्ट अग्रता बनाएको थियो ।

दोस्रो हाफको ५३औं मिनेटमा रश्मी घिसिङलाई डिबक्सभित्र लडाएपछि नेपालले पेनाल्टी पायो । पेनाल्टीमा गीता रानाले गोल गर्दै व्यक्तिगत दोस्रो सफलता हात पारिन् । ६२औं मिनेटमा अनिता बस्नेतको कर्नरमा निशा थोकरको हेडरले गोलको संख्या ६–० पुर्‍यायो ।

७८औं मिनेटमा सब्स्टिच्युट पूजा रानाको क्रसमा रेखा पौडेलले हेडमार्फत गोल गरिन् । त्यसपछि ८९औं मिनेटमा श्रीलंकाकी डिफेन्डर माहिस्का कुमुदिनीले क्लियर गर्न नसकेको बललाई पुजाले जाली चुमाउँदै नेपालका लागि आठौं गोल गरिन् ।

नेपालले यसअघि पहिलो खेलमा लाओसमाथि ९–० को फराकिलो जित निकालेको थियो । अब नेपालले शनिबार समूह चरणको अन्तिम र निर्णायक खेल घरेलु टोली उज्बेकिस्तानसँग खेल्नेछ ।

श्रीलंकाका लागि यो लगातार दोस्रो हार हो । पहिलो खेलमा श्रीलंका उज्बेकिस्तानसँग १०–० ले पराजित भएको थियो । दुई खेलमा गोल रहित तथा अंकविहीन श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ ।

३४ टोली सहभागी प्रतियोगितामा ८ समूह बनाइएका छन् । प्रत्येक समूहको विजेता टिमले २०२६ मा अष्ट्रेलियामा आयोजना हुने एएफसी महिला एसियन कपमा स्थान बनाउनेछ । आयोजक अष्ट्रेलिया, चीन, दक्षिण कोरिया र जापान भने पहिल्यै छनोट भइसकेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise