२०८२ असार १९ गते बिहिवार / Jul 03 , 2025 , Thursday
२०८२ असार १९ गते बिहिवार
Ads

कर्णाली विकास बैङ्कका पूर्व अध्यक्ष मिश्र पक्राउ

shivam cement
मध्यान्ह
२०८२ असार १८ गते १८:०२
कर्णाली विकास बैङ्कका पूर्व अध्यक्ष मिश्र पक्राउ

काठमाडौं : कर्णाली विकास बैंकका पूर्वअध्यक्ष पशुपति दयाल मिश्रलाई पक्राउ परेका छन् । उनी बैक घोटला प्रकरणमा पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले दयाललाई नेपालगन्जबाट पक्राउ गरेको हो । सिआइबीका अनुसार मिश्र २०६६ सालदेखि ०७५ सालसम्म बैँकको अध्यक्ष थिए । 

मधेश आन्दोलनबाट उदाएका नेता मिश्र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नं. २ बाट उम्मेदवार थिए ।

स्वतन्त्र राजनीतिक समूहका उनी एमालेको सूर्य चुनाव चिह्नबाट प्रतिस्पर्धा गरे पनि पराजित भएका थिए । पछि उनी एमाले प्रवेश गरेका थिए । उनी पार्टीका अहिले केन्द्रीय सदस्य हुन् ।

मिश्रसँगै यो ठगी प्रकरणमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ । यसअघि तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका थिए ।

पक्राउ परेकाहरुलाई बाँकेमा नै राखेर सीआईबीको टोलीले अनुसन्धान गरिरहेको छ । सीआईबीबाट डीएसपी दान थापाको कमाण्डको एउटा टोली नेपालगञ्ज गएर अनुन्सन्धान गरिरहेको सीआईबीले बताएको छ ।

पक्राउ परेकाहरुविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको सीआईबीले बताएको छ ।

यो बैंकमा अहिलेसम्म २ अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको भन्दै उजुरी परेको छ । कर्णाली विकास बैंक २०६० सालमा स्थापना भएको थियो । अपचलनमा संलग्न मुख्य व्यक्ति रायको कर्णाली विकास बैंकमा करिब ८० प्रतिशत संस्थापक सेयर छ । उनी बैंक स्थापनादेखि नै कार्यकारी अध्यक्ष तथा सीईओका रूपमा करिब १५ वर्षसम्म कार्यरत थिए । प्रमुख सेयर होल्डरका रूपमा रायले नै बैंक चलाउँदै आएका थिए ।

बैंक सञ्चालक समिति अध्यक्ष डा. ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित विशेष छानबिन समितिले ठूलो रकम घोटाला भएको निष्कर्ष निकालेको थियो ।
 

ADV

सम्बन्धित खबर

Advertise