२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सुनकोसी गाउँपालिकामा तालाबन्दी

Nada
२०८२ असार १८ गते १७:०३
Shares
सुनकोसी गाउँपालिकामा तालाबन्दी

सिन्धुली : विद्यालयमा भएको अनियमितता र भुक्तानीको विषयलाई लिएर प्रधानाध्यापकलाई स्पष्टीकरण सोधिएको विषयमा गाउँपालिकामा तालाबन्दी गरिएको छ । 

ncell

सिन्धुलीको सुनकोसी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतले सुनकोसी गाउँपालिका–३ स्थित प्रगतिशील नमुना माविका प्रधानाध्यापक सरिता चौलागाईंलाई अनियमितता र भुक्तानीको विषयलाई लिएर स्पष्टीकरण सोधेको भन्दै सुनकोसी गाउँपालिकामा उपाध्यक्षसहित चार वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत र शिक्षाशाखामा तालाबन्दी गरेका हुन् । उक्त विद्यालयका प्रधानाध्यापक चौलागाईं माथि विद्यालय भवन निर्माण गर्दा भुक्तानी गरिएको रकम हिनामिना गरेको र नियम विपरित सुविधा लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा मुद्दा दर्ता भएको थियो । 

सोही विषयलाई लिएर गाउँपालिकामा समेत तीनवटा उजुरी परेपछि चौलागाँई माथि के कसो भएको हो भन्दै गाउँपालिकाको शिक्षा सम्बन्धी कार्यविधि २०७५ को (पहिलो संसोधन २०८०) अनुसार स्पष्टीकरण  सोधेको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले विद्यालयको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको भएपनि चौलागाईंलाई स्पष्टीकरण सोधे पछि उनको कार्यकक्षमा तालाबन्दी गरिएको गाउँपालिका उपाध्यक्ष कपिल कोइरालाले बताए । 

उता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले भने विद्यालयको आर्थिक कारोबारमा कैफियत देखिएको र भवन निर्माण कम्पनीलाई पुषमै भुक्तानी गर्नुपर्ने रकम हालसम्म नदिइ १६ लाख रुपैयाँभन्दा बढी अपुग देखाइएकाले स्पष्टीकरण सोधिएकोमा विरोध स्वरुप कार्यकक्षमा तालाबन्दी गरिएको जनाए ।

प्रमुख प्रशासकीय अधिकृत दर्जीका अनुसार उक्त विद्यालयको भवन निर्माणका लागि गाउँपालिकाले निर्माण सम्पन्न भई अन्तिम बिल अनुसार कुल ६८ लाख ९७ हजार रुपैयाँ निर्माण कम्पनी आर.वि. सिद्धार्थ कन्ट्रक्सन प्रालिलाई भुक्तानीका दिन निकासा गरिदिएको भएपनि विद्यालयले १६ लाख ६४ हजार रुपैयाँ भुक्तानी गर्न सकेको छैन । 

सम्बन्धित खबर