२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

'ग्रे-लिस्टबाट बाहिरिन सुनको कारोबारमा पारदर्शिता आवश्यक भएकाले विलासिता कर लगाइएको हो'

Nada
२०८२ असार १८ गते १५:१०
Shares
'ग्रे-लिस्टबाट बाहिरिन सुनको कारोबारमा पारदर्शिता आवश्यक भएकाले विलासिता कर लगाइएको हो'

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ग्रे-लिस्टबाट बाहिर निस्कनुपर्ने आवश्यकताको आधारमा सुनको कारोबारमा पारदर्शिता गर्न कायम गर्न विलासिता कर लगाइएको बताएका छन् । राष्ट्रिय सभाको बुधवारको बैठकमा मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

ncell

उनले विलासिता करको सम्बन्धमा सरकारले नयाँ प्रस्ताव गरेको नभइ सुनको १० लाखभन्दा माथिको कारोबारमा यसअघि लाग्दै आएको विलासिता करको सीमा हटाइएको स्पष्ट पारे ।

उनले मुलुकको वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै अगामी आर्थिक वर्षको बजेट ल्याइएको समेत बताए । उनले बजेट निर्माणका क्रममा ऋण लिने अभ्यास नेपाल मात्र नभई विश्वका धेरैजसो मुलुकहरूमा कायम रहेको उल्लेख गर्दै ऋण सीमा र दिगो व्यवस्थापनमा सरकार गम्भिर रहेको बताए ।

उनले भने, ‘घाटाको बजेट आएको सन्दर्भ उठेको छ । हामीले बजेट निर्माण गर्दा राजस्व र अन्तर्राष्ट्रिय सहयोग एउटा महत्वपूर्ण स्रोत हो । निश्चित सीमासम्म हामी ऋण पनि उठाउने गर्छौं । यो ऋणको आकारलाई घाटा बजेटसँग जोडेर हेर्ने गरिन्छ । हामी राजस्व र अन्तर्राष्ट्रिय सहयोगबाट मात्रै बजेट निर्माण गर्न सक्छौं भन्ने बिन्दुमा पुगिसकेका छैनौं । विश्वका विकसित मुलुकहरुले समेत बजेट निर्माण गर्दा ऋण उठाउने अभ्यास गरिरहेका छन् । तर हामी के कुरामा होसियार छौं भने ऋणको मात्रा असीमित नहोस्, धान्न सकिने होस् । त्यसको दिगो व्यवस्थापन हुन सकोस् । र, यसरी लिइने ऋणलाई उत्पादत्व वृद्धि गर्ने क्षेत्रमा खर्च गरियोस् भन्ने कुरामा होसियार हुनुपर्छ ।’

मन्त्री पौडेलले लोकतन्त्रको मर्मअनुसार बजेट आएको दाबी गर्दै बजेटले मुलुकको समग्र विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सम्बन्धित खबर