२०८२ असार १८ गते बुधवार / Jul 02 , 2025 , Wednesday
२०८२ असार १८ गते बुधवार
Ads

वैदेशिक रोजगारबाट फर्केका आठ उत्कृष्ट उद्यमीलाई सम्मान

shivam cement
२०८२ असार १८ गते ०६:२०
वैदेशिक रोजगारबाट फर्केका आठ उत्कृष्ट उद्यमीलाई सम्मान

काठमाडौं : सरकारले वैदेशिक रोजगारबाट प्राप्त ज्ञान, सीप र पुँजी प्रयोग गरी स्वदेशमा उद्यमशीलता गरिरहेका आठ युवालाई सम्मान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा श्रममन्त्री शरतसिंह भण्डारीले सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरी उनीहरूलाई सम्मान प्रदान गरे ।

त्यसअवसरमा कोशी प्रदेशका रविन पोखरेल र राजीव खड्का, मधेशका शंकर सिम्खडा, बागमतीका कुमार श्रेष्ठ, गण्डकीका वसन्तबहादुर खड्का, लुम्बिनीका शोभाखर पौडेल, कर्णालीका लक्ष्मीप्रसाद ढकाल र सुदूरपश्चिमका तर्कसिंह विष्टलाई सम्मान गरिएको हो ।

यस वर्षको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार झापाका पोखरेलले प्राप्त गरेका छन् । सो पुरस्कारको राशि एक लाख ५० हजार रुपैयाँ रहेको छ । उनले दमकमा श्री भूमिका सीपमूलक तालिम केन्द्र सञ्चालनमा ल्याइ धेरै जनालाई रोजगारी दिएको त्यस अवसरमा जानकारी दिइयो ।

अन्य उद्यमीले जनही ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । स्वदेश फर्की वैदेशिक रोजगारीबाट आर्जित ज्ञान, सीप, अनुभव र पुँजीलाई उद्यमशीलता र रोजगारीको क्षेत्रमा अधिकाधिक उपयोग गर्दै समृद्ध राष्ट्र निर्माणमा योगदान पुर्याउन पुरस्कारले प्रेरणा मिल्ने मन्त्रालयले जनाएको छ ।

सम्मानित हुनेहरूले विदेशबाट फर्केर कृषि उद्यम, ट्रेनिङ सेन्टर, पशुपालन, क्याटरिङलगायत व्यवसाय गर्दै आएको मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारबाट फर्की नेपालमा उद्यम गरेकाहरूलाई पुरस्कृत गर्न मन्त्रालयले गत पुस १६ गते आवेदनका लागि सार्वजनिक सूचना जारी गरेको थियो ।

पुरस्कार छनोटमा रोजगारी सिर्जना, पुँजी लगानी, स्थानीय स्रोतसाधन र प्रविधिको प्रयोग, उत्पादन निर्यात गरे/नगरेको, सामाजिक दायित्व बहन गरे/नगरेको, वातावरणमैत्री प्रविधिको प्रयोग तथा प्रदूषण व्यवस्थापन र उद्यम सञ्चालन गरेको र भौगोलिक क्षेत्रलगायत सात वटा मूल्यांकन सूचकलाई आधारका रूपमा लिइएको थियो ।

उक्त सूचनाअनुसार ५६ उद्यमीले आवेदन दिएका थिए । तीमध्ये उत्कृष्टलाई पुरस्कार प्रदान गरिएको हो । त्यसअवसरमा मन्त्री भण्डारीले वैदेशिक रोजगारीबाट फर्केका युवाको श्रम, सीप र पुँजीलाई उद्यमशीलतासँग जोड्न सरकारले प्रयास गरिरहेको बताए ।

मन्त्रालयका सचिव डा कृष्णहरि पुष्करले वैदेशिक रोजगारमा जाँदैमा बौद्धिक पलायन नहुने भन्दै विदेशको ज्ञान, सीप, पुँजी र प्रविधि स्वदेशमा भित्र्याउने उच्च अवसर हुने बताए ।

ADV

सम्बन्धित खबर

Advertise