२०८२ असार १८ गते बुधवार / Jul 02 , 2025 , Wednesday
२०८२ असार १८ गते बुधवार
Ads

सेवा शुल्क परिमार्जन नहुँदासम्म व्यवसाय सम्मानित हुँदैन : अध्यक्ष गुरुङ

shivam cement
मध्यान्ह
२०८२ असार १८ गते ०६:१५
सेवा शुल्क परिमार्जन नहुँदासम्म व्यवसाय सम्मानित हुँदैन : अध्यक्ष गुरुङ

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले नयाँ कार्यसमिति वैदेशिक रोजगार व्यवसायीका समस्या समाधानसहित रचनात्मक काममा प्रयासरत रहेको बताएका छन् । 

संघको ३३औं स्थापना दिवसका अवसरमा संघको सभाहल सिफलमा आयोजित कार्यक्रममा उपस्थित व्यवसायीहरूलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले उक्त धारणा राखेका हुन् । अध्यक्ष गुरुङले भर्खरै मात्र संघको वार्षिक साधारण सभा सकिएकाले संघ स्थापना दिवस सामान्य कार्यक्रम राखेर मनाइएको बताए ।

अध्यक्ष गुरुङले वर्तमान कार्यसमिति निर्वाचित भएपछि जापानमा कामदार पठाउने कार्यविधि २०८० मा रहेको आफ्नै भवन र तालिम जस्ता विषय हटाएर सबै व्यवसायीले कामदार पठाउन पाउने गरी सबैलाई समान अवसर सिर्जना गरेको, मलेसिया सिन्डिकेट निरस्त गरेर आतंकित अवस्थामा रहेका व्यवसायीलाई सुनिश्चितता दिएको बताए ।

उनले सेवा शुल्क नतोकिएसम्म व्यवसायी सम्मानित नहुने र सेवा शुल्क परिमार्जन नहुँदासम्म सरकार, कामदार र व्यवसायी तीन वटै पक्षलाई घाटा हुने भएकाले सेवा शुल्क परिमार्जनमा संघको निरन्तर दबाब रहेको बताए ।

मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान गरेको र वैदेशिक रोजगार पृष्ठभूमिका व्यक्तिहरू मन्त्री, सांसद र राजदूत बनेकाले यो क्षेत्र कमजोर होइन भन्ने पुष्टि भएको भन्दै उनले वैदेशिक रोजगार क्षेत्र कमजोर भएमा त्यसले सबै क्षेत्र नकारात्मक प्रभाव पार्ने भएकाले सरकारले उचितरूपमा महत्व दिएर देखिएका समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

वैदेशिक रोजगार व्यवसायमा पढेलेखेका दोस्रो पुस्ता भएपनि आकर्षित भएको भन्दै समाजमा सामाजिक उत्तरदायित्वका काम गरेर पहिचान चम्काउनुपर्ने धारणा राखे । त्यसैगरी बाजुराका आगलागीबाट पीडितलाई १ लाख ७६ हजार सहयोग गरेकोे र ३३औं वार्षिकोत्सवमा कीर्तिपुरमा आश्रित चेपाङलगायत अविभावकविहीन बालबालिकालाई सहयोग गरेको भन्दै उनले सामाजिक उत्तरदायित्वका कामलाई प्राथमिकतामा राखिएको बताए ।

पूर्वअध्यक्ष तिलकबहादुर रानाभाटले वर्तमान अवस्थामा वैदेशिक रोजगार व्यवसाय नेपालका लागि अपरिहार्य बनेको र जोखिम पनि उत्तिकै भएकाले सबै व्यवसायीलाई समेटेर वार्षिकरूपमा गर्ने कार्यक्रमको क्यालेन्डर नै बनाएर अगाडि बढ्न संघलाई सुझाव दिए ।

त्यस अवसरमा संघले पूर्वअध्यक्ष रानाभाट, पूर्वद्वितीय उपाध्यक्ष तथा वैदेशिक रोजगार व्यवसायी तमुधीः समाजका अध्यक्ष तीर्थबहादुर गुरुङ र नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष दीपक थापालाई सम्मान गरेको थियो ।

कार्यक्रम सञ्चालन गर्दै संघका महासचिव महेशकुमार बस्नेतले व्यवसायलाई सुरक्षित, मर्यादित बनाउन अग्रज व्यवसायीहरूसँग समन्वय गरेर संघ अघि बढ्ने जानकारी दिए । ३३औं स्थापना दिवसका अवसरमा संघले केक काटेर बधाई तथा शुभकामना साटासाट गरेको थियो । 

३३औं स्थापना दिवसका अवसरमा संघले भत्केपाटी कीर्तिपुरस्थित चिल्ड्रेन अफ द स्ट्रिट नामक गैरसरकारी संस्थामा आश्रित बालबालिकालाई खाद्यान्न, स्टेसनरी र स्यानेटरी प्याड वितरण गरेको छ ।

सहयोग हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले आफूहरूले बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने मात्रै नभइ समाजसेवाका काम पनि गरिरहेको बताए । संस्थामा आश्रित बालबालिकालाई राम्रोसँग शिक्षादिक्षा दिएर सुयोग्य कर्णधार बनुन् भन्ने सुभेच्छाले चेपाङ लोपोन्मुख समुदायका बालबालिका रहेको संस्था खोजेर सहयोग गरेको बताए ।

राहत हस्तान्तरण कार्यक्रमको संयोजक रहेकी संघ कोषाध्यक्ष धनुमाया सिञ्जालीले व्यवसायीहरूले गरेको व्यक्तिगत सहयोगबाट संकलन भएको एक लाख नौ हजार रुपैयाँबाट २२ बोरा गुणस्तरीय चामलसहित तीन महिनालाई पुग्ने दाल र सेनेटरी प्याड प्रदान गरेको जानकारी दिइन् ।

उक्त संस्थाका प्रोग्राम म्यानेजर हरिप्रसाद शर्माले संस्थाको तर्फबाट सहयोगका लागि संघलाई आभार व्यक्त गरे । संघको सहयोगले आफू एक्लो नभएको महसुस भएको भन्दै उनले बुबाआमामा नभएका बालबालिकालाई सुरुवातमा बोर्डिङमा र ५ कक्षापछि सरकारी लगानीको मंगल माध्यामिक विद्यालयमा पढाउने गरेको जानकारी दिए ।

कार्यक्रममा महासचिव बस्नेतले संकटमा परेको चेपाङ समुदायसहित अभिभावकविहीन बालबालिकालाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए । राहत वितरण कार्यक्रममा पूर्वअध्यक्ष रानाभाटसहित संघ कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा वैदेशिक रोजगार व्यवसायीहरूको सहभागिता रहेको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise