काठमाडौँ : एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज भुटानसँग खेल्दैछ । खेल मलेशियाको सेलांगोर टर्फ क्लब क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान पौने ८ बजे सुरु हुनेछ ।
अहिलेसम्म खेलेका तीनवटै खेलमा विजयी हुँदै समूह ‘ए’मा शीर्ष स्थानमा रहँदै नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ । नेपालसँगै समूह ‘ए’बाट चार खेलमा छ अंकसहित दोस्रो स्थानमा रहेको सिंगापुर पनि सेमिफाइनलमा पुगेको छ । यस्तै समूह ‘बी’बाट मलेशिया र हङकङ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई छ विकेट, दोस्रो खेलमा जापानलाई नौ विकेट र इन्डोनेसियालाई चार सय २१ रनको फराकिलो अन्तरले हराएको थियो । १६ वर्षमुनिको इस्ट जोन कपमा १० वटा टोली सहभागी छन् ।