काठमाडौं : कुवेत प्रहरीले गरेको एक प्रमुख सुरक्षा कारबाहीमा ठूलो परिमाणको घरेलु मदिरासहित एक नेपाली पक्राउ परेका छन् । कुवेतको फिन्टास प्रहरीले महबुला क्षेत्रमा रहेको एकान्त र फोहोर क्षेत्रमा पार्क गरिएका सवारीभित्र ३ हजार ८२८ बोतल मदिरा फेला पारेको कुवेत प्रहरीले बताएको छ ।
लागुपदार्थ र मदिरा तस्करहरूले शोषण गर्ने शंकास्पद क्षेत्रहरू र खुला ठाउँहरूमा निगरानी गर्ने कुवेती सार्वजनिक सुरक्षा उपसचिव मेजर जनरल हमाद अल–मुनिफीले यसलाई गम्भीर घटनाको रूपमा चित्रण गरेका छन् ।
अपरेशनको क्रममा कुवेती अधिकारीहरूले मदिरा राखिएका बसहरू सुनसान क्षेत्रमा पार्क गरिएको पाइएको भन्दै कारोबारीले चलाखीपूर्ण व्यवहार गरेर सुरक्षाकर्मीलाई छक्याउन खोजेको बताएका छन् ।
पक्राउ परेका नेपालीलाई जफत गरिएका बोतलहरूसँगै सम्बन्धित कानुनी अधिकारीहरूलाई बुझाइएको छ । कुवेतको मदिरा उत्पादन र वितरणसम्बन्धी कडा कानुनअनुसार उनीमाथि कारबाही हुने बताइएको छ ।
अवैध मदिराको उत्पादन र वितरण नियन्त्रण गर्न कुवेत सरकारले निरन्तर प्रयास जारी राखेको छ भने हालैका महिनाहरूमा अवैध मदिरा कारखाना र तस्करीमा संलग्न धेरै व्यक्ति पक्राउ परेका छन् । अवैध मदिराको ओसारपसारले गम्भीर स्वास्थ्य र सुरक्षा जोखिम निम्त्याउने इन्टरपोल प्रहरीको भनाइ छ ।